23.1 C
Kathmandu
 

युनेस्कोको खतरा सूचीमा पर्नबाट जोगियो काठमाडौं, अध्ययन गर्न मिसन आउने

काठमाडौं । अजरबैजानको बाकुमा भइरहेको विश्व सम्पदा समितिको ४३ औं बैठक काठमाडौं उपत्यकालाई तत्काल खतराको सूचीमा नराख्न सहमत भएको छ । सो बैठक हुनुअघि काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने तयारी अनुसार सोही अनुसारको प्रस्ताव समितिले बनाएको थियो ।

उक्त बैठकमा भाग लिन गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा नेतृत्वको टोलीले नेपालले निर्माण कार्य युनेस्कोको मापदण्ड अनुसार नै अघि बढाइरहेको प्रतिबद्धता जनाएपछि अहिलेलाई नेपाल खतराको सूचीमा पर्नबाट जोगिएको हो ।

नेपाली टोली नेपाल सम्बन्धी विषयको छलफल सकिएकाले सोमबार नै स्वदेश फर्किसकेको छ । सो टोलीमा रहेका पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले नेपालको प्रतिबद्धता अनुसार काठमाडौं उपत्यका खतराको सूचीमा नपरेको जनाए ।

उनका अनुसार युनेस्कोका तर्फबाट आगामी अक्टोबर–नोभेम्बर महिनामा यहाँको अवस्था बुझ्नका लागि मिसन पठाइनेछ । सो मिसनले अध्ययन गरेपछि सोही अनुसार नेपालले आफ्ना गतिविधि अगाडि बढाउनुपर्नेछ ।

निमित्त महानिर्देशक गौतमका अनुसार संघीय, प्रदेश र स्थानीय सरकार सबैका तर्फबाट सम्पदाको संरक्षणका लागि प्रतिबद्धता जनाउनुपर्ने कुरामा समेत समितिको बैठकमा जोड दिइएको छ । काठमाडौं उपत्यकाभित्रको कतिपय निर्माण कार्यमा मापदण्ड पूरा नभएको ठानेर संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)ले पटक पटक सचेत गराउँदै आएको थियो ।

पछिल्लो चासोमा जिर्णोद्धारको क्षमता विकास, अनुगमन टोलीलाई बोलाइनुपर्ने, खर्चका लागि अन्तरराष्ट्रिय निकायको सहयोग लिनुपर्र्नेे लगायतका कुरा उठाइएको थियो । सरकारले पनि युनेस्कोको चासोको बारेमा गएको फेब्रुवरीमा एक रिपोर्ट पठाएर प्रतिबद्धता जनाएको थियो । सरकारले यसअघि युनेस्कोलाई पठाएको ५१ पेज लामो रिपोर्टमा मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाइएकोमा अहिलेपनि सोही खालको प्रतिबद्धता जनाइएको हो ।

सन् २००३ मा  काठमाडौं उपत्यका खतराको सूचीमा परेकोमा आवश्यक सुधारपछि २००७ जुन २५ मा नेपाललाई सो सूचीबाट हटाइएको  थियो ।

यसपालि नेपालको काठमाडौं उपत्यकासहित सुन्दर वन (बंगलादेश), प्राचीन सहर नेस्सेबार (बुल्गेरिया), ओहरिड रिजन –अल्बानिया–नर्थ मेसेडोनिया), गल्फ अफ क्यालिफोर्निया (मेक्सिको) र बेबीलोन (इराक)लाई पनि खतराको सूचीमा पार्ने गरी तयारी भइरहेकोमा तत्काललाई यो खतरा टरेको छ ।

नेपालका के के छन् विश्व सम्पदा सूचीमा ?

काठमाडौं उपत्यका
नेपालका दश वटा क्षेत्र विश्व सम्पदा सूचीमा रहेका छन् । तर, युनेस्कोले भने काठमाडौं उपत्यका भित्रका विभिन्न सात वटा सम्पदालाई एउटै सूचीमा राखेर काठमाडौं उपत्यका भन्ने गरेको छ । जस्तो काठमाडौंउपत्यका भित्र पशुपतिनाथ मन्दिर, स्वयम्भुनाथ स्तुप, बौद्धनाथ स्तुप, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र चाँगुनारायण मन्दिर पनि पर्दछन् । काठमाडौं उपत्यकालाई सन् १९७९मा विश्व सम्पदा सूचीमा राखिएको हो ।

लुम्बिनी (मायादेवी मन्दिर)
लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थान हो । यो क्षेत्र सन् १९९७मा नै  विश्व सम्पदा सूचीमा परेको हो । यो क्षेत्रमा मायादेवीका अतिरिक्त अन्य थुप्रै मन्दिरहरु  छन् ।

चितवन नेशनल पार्क 
चितवन नेशनल पार्क पहिला शाही चितवन नेशनल पार्कको रुपमा चिनिन्थ्यो । यो नेपालको पहिलो नेशनल पार्क हो जुन सन् १९७३मा स्थापना गरिएको हो । यसलाई सन् १९८४मा विश्व सम्पदा सूचीमा पारिएको थियो । यो पार्क विभिन्न जातका जंगली जनावरको वासस्थानका रुपमा समेत चिनिने गरेको छ । यही क्षेत्रमा विश्वकै चर्चित एक सिंगे गैंडा र बंगाल टाइगर पनि पाइन्छन् ।

सगरमाथा राष्ट्रिय निकुन्ज
सगरमाथा राष्ट्रिय निकुन्ज पनि विश्व सम्पदा सूचीमा रहेको छ । यसको स्थापना सन् १९७६मा भएको हो । यो संरक्षित क्षेत्र हो । यही क्षेत्रमा विश्वको सर्बोच्च शिखर सगरमाथा पनि रहेको छ ।  यसलाई सन् १९७९मा विश्व सम्पदा सूचीमा पारिएको थियो । अघिल्ला दुई सम्पदा सांस्कृतिक हुन् भने पछिल्ला दुई प्राकृतिक सम्पदा हुन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर