आईसीसी विश्वकप क्रिकेट २०१९ को सेमिफाइनल अघि अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ । उसको मध्यक्रममा भरपर्दा ब्याट्सम्यान उस्मान ख्वाजा घाइते भएका छन् । जसका कारण उनी प्रतियोगिताबाट बाहिरिएको प्रशिक्षक जस्टिन लेंगरले पुष्टि गरे ।
दक्षिण अफ्रिकाविरुद्ध लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरेका ख्वाजा त्यही बेला चोटग्रस्त भएका थिए । जसका कारण उनी रिटार्यड हट हुँदै पेभेलियन फर्किए । तर दोस्रो पटक ब्याटिङ गर्न ख्वाजा उत्रिए पनि अस्ट्रेलिया १० रनले पराजित हुन पुग्यो ।
ख्वाजाको ठाउँमा म्याथू बेडलाई टिममा राखिएको छ । यसलाई आईसीसीले अनुमति दिन भने बाँकी रहेको जनाइएको छ । उनलाई हातमा लागेको चोट ठिक हुन ३–४ हप्ता लाग्ने पनि बताइएको छ ।
प्रशिक्षक लेंगरले एशेज शृंखला अघि ठिक हुन सक्ने बताए । अस्ट्रेलियाले जारी विश्वकपको सेमिफाइनलमा ११ तारिखमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।