काठमाडौं । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करिब एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको हो ।
भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङमार्गबाट ल्याई विद्युतगृहमा परीक्षण उत्पादन गरि सकिएको आयोजनाले जनाएको छ । कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणको ४ अर्ब ५० करोड रकम लगानीमा कुलेखानी तेस्रो विद्युत् आयोजनाको निर्माण गरिएको हो ।
चिनियाँ प्राविधिक टोलीले यही असारभित्र कुलेखानी तेस्रोको निर्माणाधिन विद्युतगृहको बाँकी कामको अनुगमन गरी थप उपकरणहरुका साथै तारहरुको जडान गर्ने र छिट्टै विद्युतको उत्पादन भई काठमाडौंस्थित केन्द्रीय प्रसारणमा जोड्ने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाषबाबु मिश्रले जानकारी दिए ।
अहिले कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।