28.1 C
Kathmandu
 

कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु

९ असोज, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार ६ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दागर्दै ती पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यसैगरी पर्साको वीरगञ्जमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ७७ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४५ पुगेको छ ।

मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणीमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।

‘नारायणीबाट पठाउँदा नै शरीरमा अक्सिजन मेन्टेन हुन सकेको थिएन, मुटु सुन्निएको थियो, ब्लड प्रेसर कन्ट्रोल भइरहेको थिएन,’ डा. हुसैनले भने ‘भेन्टिलेटरको सपोर्टमा राखेर आवश्यक औषधीहरु चलायौं, तर पनि बचाउन सकिएन ।’ उनको कलेजोमा समेत समस्या देखिएको डाक्टर हुसैनको भनाइ छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर