22.1 C
Kathmandu
 

स्यानिटाइजरमा आत्मनिर्भर छौं, आयातमा प्रतिबन्ध लगाऔं

काठमाडौं । स्यानिटाइजरमा आत्मनिर्भर भएको भन्दै आयातमा प्रतिबन्ध लगाउन व्यवसायीले माग गरेका छन् । चीन, भारतबाट आयातित स्यानिटाइजर पनि न्यून गुणस्तरका र गुणस्तरहीन भएको पाइएकाले अब आयातमा प्रतिबन्ध लगाउनुपर्ने भनाइ व्यवसायीको छ । सरकारले भन्सारविन्दुमै गुणस्तर परीक्षण नगर्दा गुणस्तरहीन स्यानिटाइजर नेपाल भित्रिएको उनीहरुको भनाइ छ ।

औरा ब्राण्डको स्यानिटाजर उत्पादन गर्दै आएको हिमगिरी हाइजिनका संचालक महेश जाजुले माग भन्दा उत्पादन बढी भएकाले विदेशी स्यानिटाइजर आयातमा रोक लगाउनुपर्ने बताए ।

“भारत र चीनबाट पनि आयात भइरहेको छ । स्यानिटाइजरमा आत्मनिर्भर भइसकेपछि किन आयात गर्न दिने ? स्वदेशी उद्योग प्रबर्दन गर्नुपर्ने होइन र ?” उनले भने ।

अहिले स्यानिटाइजरको मागभन्दा आपूर्ति बढी भइरहेको उनले बताए । सोही कारण धेरै उद्योग बन्द हुने अवस्थामा पुगेको उनको दाबी छ ।

उनले सरकारकै कमजोरीका कारण गुणस्तरहन स्यानिटाइजर भित्रिरहेको बताए । नेपाल प्रवेश गराउनुअघि नै भन्सारमा गुणस्तर परिक्षण नगर्दा गुणस्तरहिन स्यानिटाइजर उपभोक्ताले प्रयोग गरेको उनले बताए ।

“उपभोक्ता पनि विदेशी भनेपछि राम्रो हुन्छ भन्ने भ्रममा छन् । गुणस्तरहीन सामान बजारमा पुगिसके । औषधि व्यवस्था विभागले सूचना जारी गर्र्दैमा सबै उपभोक्ताले थाहा पाउँछन् र ? नेपालमा भित्र्याउनुअघि नै किन गुणस्तर परीक्षण गरिएन ? भन्सारमा नै परिक्षण गरेर रोक्नुपर्ने होइन ?,” उनले भने ।
लोमस फर्मास्यूटिकल्सका निर्देशक प्रवलजंग पाण्डे पनि स्यानिटाइजरमा आत्मनिर्भर भएकाले आयातमा रोक लगाइनुपर्ने बताउँछन् ।

“स्यानिटाइजर आयात गर्न अहिले जरुरी छैन । हामी आफैँ आत्मनिर्भर भइसकेका छौं । आयात रोक्न नसक्ने हो भने पनि गुणस्तर भन्सारविन्दूमै परीक्षण गराउनुपर्छ,” उनले भने ।

स्वदेशी औषधि उत्पादकले स्यानिटाइजरको गुणस्तरीयता कायम गरेको उनले बताए । औषधि उद्योगहरु औषधि व्यवस्था विभागको प्रत्यक्ष निगरानीमा रहने र गुणस्तर स्यानिटाइजर मात्रै उत्पादन भईरहेको उनले जिकिर गरे । खुलेआम विदेशी स्यानिटाइजर आयात गर्न दिनु सरकारको कमजोरी भएको उनको भनाइ छ ।

“विभागले पनि पहिलेदेखि नै नियमन गरेको भए उपभोक्ताले कम गुणस्तरको स्यानिटाइजर प्रयोग गर्न पर्दैनथ्यो । अहिले पनि स्वदेशमै माग अनुुसार उत्पादन गर्न सक्ने भएकाले आयात पनि रोक्नुपर्छ,” उनले भने । हिमगिरी हाइजिनका संचालक जाजु स्यानिटाइजर निर्यात गर्न दिनुपर्ने पनि बताउँछन् ।

“अहिले माग भन्दा आपूर्ति बढी भइसकेको छ । तेस्रो मुलुकबाट पनि माग आएको छ । सरकारले निर्यात गर्न खुला गरिदिनुपर्छ,” उनले भने । आफूले निर्यात गर्न दुई महिनादेखि प्रयास गर्दा पनि सफल नभएको उनले बताए ।

विदेशी स्यानिटाइजर आयातमा प्रतिबन्ध त लगाउनुपर्छ नै निर्यात गर्न पनि दिनुपर्छ । त्यसले विदेशी मुद्रा पनि आर्जन हुने उनले बताए । विदेशबाट गुणस्तरहिन स्यानिटाइजर आउने गरेको र स्वदेशी उत्पादन भन्दा सस्तो भएकाले बजार विगारेको र उपभोक्ताको स्वास्थ्यमाथि समेत खेलवाड भइरहेको व्यवसायीको भनाइ छ ।

कोरोना संक्रमण बढेसँगै स्यानिटाइजर र मास्कको माग पनि निकै बढेको थियो । केही दिन त बजारमा मास्क र स्यानिटाइजरको अभाव समेत भएको थियो भने चर्को मूल्य तिर्न उपभोक्ता बाध्य भएका थिए । अहिले औषधि उद्योगसहित अन्य कम्पनीहरुले पनि स्यानिटाइजर एवं मास्क उत्पादन गरिरहेका छन् ।

देशभित्र करिब ३० वटा औषधि उद्योग संचालनमा छन् । ती उद्योगबाट उत्पादित औषधीहरुको गुणस्तर परीक्षण औषधि व्यवस्था विभागले गर्दै आएको छ । विभागले पछिल्ला दिनमा स्यानिटाइजरको गुणस्तरियता परिक्षण गर्दा करिब एक दर्जन कम्पनीको स्यानिटाइजर प्रयोग गर्ने खालेको नभएको पाइएकाले प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यसरी प्रतिबन्धमा पर्ने उत्पादनहरुमा विदेशीसहित स्वदेशी पनि छन् ।

औषधी व्यवस्था विभागले स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन प्रयोग गरेर ह्याण्ड स्यानिटाइजर बनाएका विभिन्न पाँच वटा कम्पनीको उत्पादन प्रयोगलाई प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै भदौ ३१ गते पनि विषाक्त रसायनको प्रयोग एवं न्यून गुणस्तरको स्यानिटाइजर बनाएका थप ४ वटा कम्पनीलाई पनि प्रतिबन्ध लगायो । विभागले उपत्यका मात्र होइन मोफसलमा पनि तोकिएको मापदण्ड अनुसार स्यानिटाइजर नभएको भन्दै कारबाही गरिरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर