तनहुँ मिलिक्क हरियो बत्ती बल्यो।
“हेल्लो!माइ ड्रीम गर्ल! के गर्दै छौ?”-ह्याप्पी इमोजिका साथ मेसेज आयो।
उसकै प्रतीक्षामा थिएँ।प्रतीक्षाको फल मीठो हुन्छ भने झैँ उसको उपस्थितिमा रमाउन थालेँ म।
आज उसको हेन्सी फोटो थियो -“डे स्टोरीमा”ग्रे कलरको टि सर्टमा खुब खुलेको थियो ऊ।
पठाउन मिल्नेजति लभ रियाक्ट पठाएँ।
“थ्यान्क्यु सो मच”-तत्कालै उत्तर आयो।
उसँगको च्याटिङ्ग सायद दैनिकी बनेको थियो।दैनिक बेलुका २ घन्टा लगातार उसँगै च्याट्मा पोखिन थालेँ।उसका प्रत्येक शब्दगुच्छाले मलाई मीठो स्पर्श गरेको अनुभूति हुन्थ्यो।
मनमनै कल्पिन थालेँ उसँगको संवाद अनि उसको भौतिक उपस्थिति ।
अहँ!म आफैंलाई ढाट्न नसक्ने भैसकेकी थिएँ।उसँगको भलाकुसारीमै म उसँग धेरै पटक पोखिएँ।
“सपना जी!आज ५ जना क्लाइन्टको एप्लिकेसन छ।भोलि नै सबैको बीमा गरिदिनुस् है?”हाकिम साबले निर्देशन गर्नुभो।
मैले नि स्वीकृतिको मुन्टो हल्लाएँ।
हिजो नै सुचिमा रहेका ४ जना क्लाइन्ट १ बजेभित्र अफिसमा आए।सबैको आवस्यक कागजात संकलन गरी हाकिम साबसँग एप्रुभ्ड गराएर राखेँ।
करिब ४:३०तिर अन्दाजी ५५ वर्षका जस्ता देखिने पुरुष अफिसको ढोकामा आइपुगे।
“माफ गरिदिनुहोला।अफिस छुट्ने बेलामा आएँ।हिजो छोडेको एप्लिकेसनवाला म।सबै डकुमेन्ट छन्।सकेसम्म भोलि आउन नपर्नी गराइदिनु होला मिस”-नम्रताका साथ भने उनले।
सबै डकुमेन्ट फाइलमा राखी हाकिमसाबसँग साइन गराएर राखेँ।
आज कर्मचारी बस छुटेछ।घर पुग्दा ७ नै बज्यो।हतार हतार मेसेन्जर अन गरें।ऊ त १ घन्टा अघि नै अफलाइन भएछ।धेरै मेसेज गरेँ।अहँ!ऊ देखिएन।मनमा अनेकौं तानाबाना चल्न थाले।कता कता डरको डिग्री बढ्न थाल्यो।अफिसमा धेरै खाजा खाएको बहाना बनाएर खाना नखाने जानकारी गराएँ ममीलाई।रातभर निन्द्रा लागेन।उसको प्रतीक्षामै उज्यालो भो।
भोलिपल्ट बिहानै अपरिचित नं बाट फोन आयो।
“हेल्लो!सपना मिस!हिजो तपाईंको अफिसमा अबेर गरी आउने क्लाइन्ट।मेरो लाइफ इन्स्योरेन्स त गरिदिनु भो।तपाईको पर्खाइको इन्स्योरेन्स गर्न ढिलो भयो।माफ गर्नु होला!म लेखप्रसाद शर्मा उर्फ एल.पि.शर्मा!”
मेरो हातबाट मोबाइल खस्यो।
टुकादेवी आचार्य शुक्लागण्डकी-३,तनहुँ