काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले इण्डो प्यासेफिकको बारेमा धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालय शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले यसबारे चिन्ता नलिन आग्रह गरेका हुन् ।
इण्डो प्यासेफिक अमेरिकी परराष्ट्र नीति भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि आफ्नो फाइदा के के छन् भन्ने कुरा नेपाल स्वयम्ले छुट्याउन सक्नुपर्ने र त्यसमा नेपाल सक्षम भएकोले चिन्ता लिनु नपर्ने तर्क उनले गरे । उनले भने, “इण्डो प्यासेफिक अमेरिकी सरकारको नीतिको एउटा पक्ष हो । उसको प्रस्पेक्टीभ हो । उसको आउटलुक हो । उसले आफ्नो ढंगले संसारलाई राख्ने एउटा ग्लोबल पावर हुनुको नाताले विश्लेषण गर्छ । अर्को कुनै देशले पनि त्यसरी नै विश्लेषण गर्ला । हामीले हेर्ने भनेको के कुरा हाम्रो हितमा छ । राजहाँसले जस्तै दूध आफूले लिने र पानी छुट्याउने । नेपालसँग त्यो क्यापासिटी हुनुपर्छ । त्यो क्यापासिटी छ । त्यसो भएर यसमा धेरै तनाब नलिनका निम्ति म आग्रह गर्दछु ।”
दक्षिण एशियाली क्षेत्रीय संहयोग संगठन सार्क सम्मेलनका सम्बन्धमा भने उनले सार्कका संयन्त्र क्रियाशिल भईरहे पनि समिट हुन नसकेको उल्लेख गरे । समिटका लागि हस्तान्तरण गर्नेपर्ने व्यवस्था भएकाले सबै सदस्य राष्ट्रहरुको मतभेद अन्त्य नभईकन सम्मेलन गर्न नसकिने उल्लेख गरे । उनले बिआरआईमा नेपालले चीनसँग ९ वटा प्रस्ताव गरेको र ती प्रस्तावबारे सम्बन्धित मन्त्रालयले सुक्ष्म ढंगले गृहकार्य गरिरहेको स्पष्ट पारे ।
उनले राजदूत नियुक्तिको स्पष्ट मापदण्ड भएको दाबी पनि गरे । नियुक्त भएर जाने मुलुकसंग स्वार्थ बाझिने, नबाझिने, समावेशी र पदिय दायित्व निर्वाह गर्न सक्ने क्षमता हेरिने भन्दै मन्त्रालयले गरेको सिफारिसप्रति आफू विश्वस्त रहेको उनले बताए ।