14 C
Kathmandu
 

संवाद शून्य नेपाल भारत सम्बन्ध

नेपाल र भारतका बीचमा संवादहीनताको स्थिति देखिएको छ । यसरी दुई निकट छिमेकीहरूबीच संवाद रोकिनु दुवै देशको हितमा हुँदैन । सम्बन्ध चिसिनुको पछिल्लो कारण भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसमेटेर नेपालले आफ्नो राजनीतिक नक्सा जारी गर्नु मानिएको छ । यहीमात्र कारणले दुई देशबीच संवादहीन अवस्था उत्पन्न भएको भने पक्कै होइन । भारतको नेपालप्रतिको व्यवहारलाई मैत्रीपूर्ण छैन । यस्तै, नेपालका तर्फबाट पनि बेलाबखत अनावश्यक बखेडा झिकेर चिढ्याउने गरिएको छ । यसैले भारतले वार्ताको नेपाली आग्रहको उपेक्षा गरेको हुनुपर्छ । यसभन्दा पहिले पनि भारतसँग नेपालको सम्बन्ध पटकपटक बिग्रेको थियो । तर, त्यतिबेला यस्तो संवाद शून्य अवस्था भने देखिएको थिएन । भारतले २०७२ मा नाकाबन्दी लगाएकै बेलामा समेत संवाद चालु नै थियो । नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन समेत नबुझेर भारतले के देखाउन खोजेको हो भन्ने बुझ्न कठिन हुँदैन ।

भारत सरकारको नेपालसँगको व्यवहारलाई मैत्रीपूर्ण भन्न सकिँदैन । भारतको हेपाहा व्यवहार र मिचाहा प्रवृत्तिप्रति नेपालीले धेरै पहिलेदेखि गुनासो गर्दैआएका छन् । अर्कातिर, भौगोलिक अवस्था र सांस्कृतिक निकटताले भारत नेपालबीच जनस्तरमा समेत निकट सम्बन्ध रहिआएको छ । नेपाल र भारतबीचजस्तो सांस्कृतिक सम्बन्ध त सायद संसारमा कुनै पनि दुई देशबीचमा छैन होला । यसैले भारतसँग सम्बन्ध बिग्रन नदिन नेपाल सरकार पनि विशेष चनाखो रहनु पर्ने थियो । सरकारले नेपालको सबै भूभाग समेटेको नक्सा जारी गर्ने प्रयास गर्दा देशमा अपूर्व राजनीतिक एकता देखियो । ‘भारत परस्त’ भनिएका दलहरूसमेत राष्ट्रिय अखण्डताको विषयमा एकै ठाउँमा उभिए । यो ऐक्यबद्धता राष्ट्रका पक्षमा थियो भारतका विपक्षमा होइन ।

प्रधानमन्त्री केपी ओलीले भने संसद्मा देखिएको समर्थनलाई भारतका विरुद्ध प्रकट भएको ठाने । संसद्मा बोल्ने क्रममा नै उनले भारतलाई चिढ्याउनैका लागि कूटनीतिक मर्यादाविपरीत ‘छुचो’ टिप्पणी गरे । त्यसपछि उनी स्वयं र उनको पार्टीका नेताहरूका अभिव्यक्तिले पनि सम्बन्ध झन् कटु बनाउने काम गरेको छ । व्यक्ति विशेषका कारण भारतका प्रधान सेनापतिलाई मानार्थ पदवी दिने परम्परासमेत बन्द गर्ने छुच्याइँ नेपाल सरकारले गरेको छ । यस्तो कदमले दुई देशबीचको सम्बन्धलाई थप कटु बनाउँछ । यति नै बेला नेपालमा चीनको गतिविधि अपेक्षाकृत बढेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक मामिलामा समेत चीनको हस्तक्षेप बढेको सजिलै देखिन थालेको छ । यसले भारतमात्र हैन लोकतान्त्रिक पश्चिमी देशहरूमा पनि नेपाललाई हेर्ने दृष्टिकोण बदलिने संकेत देखिएको छ ।

नेपालसँग भारतको सम्बन्ध बिगार्न यस्ता गतिविधिहरू पनि उत्तिकै जिम्मेवार छन् । भारतका लागि पनि नेपालसँग यस्तो संवाद शून्य अवस्थामा रहनु पक्कै लाभदायक हुँदैन । दुई देशबीच संवाद र सम्पर्क बढ्नु दुवै देशका जनताको हितमा हुन्छ । यसैले नेपाल र भारत यथाशीघ्र वार्तामा बस्नुपर्छ । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार नयाँ चरणमा प्रवेशका लागि पनि संवाद त सुरू हुनै पर्छ । सरकारी औपचारिक वार्ताका लागि समय लाग्ने भए अनौपचारिक र नागरिक स्तरका मञ्चहरू सक्रिय हुनुपर्छ । कुनै नेता वा अधिकारीको अहङ्कारको तुष्टिका लागि दुई देशको सम्बन्ध बिगार्दा यसभन्दा पहिले नै नेपाली र भारतीय जनताले सास्ती पाइसकेका छन् । अब त्यही गल्ती दोहोरियो भने नेपाली र भारतीय जनताले सहने छैनन् । सरकारबीच जति नै सम्बन्ध बिग्रे पनि दुई देशका जनताबीचको सम्बन्ध बिग्रँदैन भन्ने पनि त पुष्टि भइसकेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...