डिभाइडरमा बस ठोक्किँदा चालकको मृत्यु

11

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बसमा सवार तीन यात्रु घाइते भएका छन् ।

विराटनगर–इटहरी खण्डमा बिहीबार राति साढे ८ बजे भएको दुर्घटनामा बस चालकको मृत्यु भएको हो । इटहरीतर्फ जाँदै गरेको को.१ख ६९५२ नम्बरको बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना हुँदा घाइते भएका चार जनालाई उपचारका लागि टिचिङ अस्पताल गंगाचोक लगिएकामा उपचारकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ७ का २९ वर्षीय बसका चालक जोशन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते तीनजनाको भने सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।