एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको आईपीओे बिक्री खुल्यो

8

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री खुलेको छ । कम्पनीको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ आज शुक्रबारबाट बिक्री खुला भएको हो ।

कम्पनीले साउन १६ गते (आज) देखि प्रतिकित्ता १०० अंकित दरमा हाल कायम जारी पुँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो । जसमध्ये कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको ३३ लाख ९८ हजार ४६ कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् एक लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २१ गते र उक्त समयमा पर्याप्त आवेदन नपरे भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

उक्त आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

आर्थिक वर्ष ०७५/७६ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ६ पैसा रहेको थियो भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा थियो । यस्तै गत आर्थिक वर्ष ०७६/७७ को अन्त्यसम्ममा कम्पनीले २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ । यसअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा र प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा कायम हुने प्रक्षेपण गरेको छ ।

कम्पनीले हाल १४.३ मेगावाटको मथिल्लो मैलुङ खोला हाइड्रोपावर, २७ मेगावटको हिमालयन पावर पार्टनर, ५४ मेगावटको मध्य तमोर हाइड्रोपावर र २८.१ मेगावटको स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन जलविद्युत् परियोजनाहरुमा लगानी गरेको छ ।