नेप्से परिसूचकमा जलविद्युत कम्पनीको सेयर मूल्य सुधारमा टेवा, कारोबार रकममा पुनर्बिमा अगाडि

7

काठमाडौं । तीन दिनको गिरावटपछि यो साताको सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्स्चेन्जमा कारोबार भएका १ सय ९ कम्पनीको सेयर मूल्य बढ्दा नेप्से परिसूचक ७.५३ अंकले सुधारिएको हो ।

कारोबारमा आएका जलविद्युत् समूहको मूल्य बढ्दा परिसूचक पनि सोही गतिमा माथि उक्लिएको छ । यसदिन ३८ कम्पनीको सेयर मूल्य घटेपनि समूहगत उपसूचकतर्फ कुनै समूह ऋणात्मक बनेनन् । फलस्वरुप, नेप्से ०.५३ प्रतिशतले बढेर १४३९.०६ अंकमा कायम भयो ।

सेयर बजारमा बिहीबार १ सय ८९ कम्पनीका ३४ लाख ३० हजार कित्ता सेयर १ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भए । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि ०.४६ अंकले बढेर ३००.९५ अंकमा कायम भएको छ ।

बिहीबार परिसूचकमा सुधार आएपनि दिनैभर उतारचढाव कायम रह्यो । तर, जलविद्युत् कम्पनीको सेयर मूल्य भने बढ्न थालेको छ । बजारमा सेयर मुल्य बढ्ने अधिंकाश जलविद्युत् कम्पनी छन् ।

नेप्सेका अनुसार यसदिन मूल्य बढेर सर्किट ब्रेक हुने ९ कम्पनीमध्ये ८ वटा जलविद्युत् कम्पनी छन् । मूल्य घटेर प्रतिकित्ता सय रुपैयाँभन्दा तल आइसकेका कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ देखि ९ रुपैयाँका दरले बढेका छन् ।

यसदिन खानिखोला, पञ्चकन्या माई, नेसनल हाइड्रो, रैराङ, आँखुखोला जलविद्युत् जोशी, युनिभर्सल पावर, हिमालयन उर्जा विकास कम्पनीको मुल्यमा सर्किट लागेको हो ।

जलविद्युत् कम्पनीहरुमा बैंकको ब्याजदर घट्नु सकारात्मक प्रभाव रहेको जानकारहरुले बताएका छन् ।

मूल्य बढेपनि जलविद्युत् कम्पनीको कारोबार रकम भने धेरै छैन । कारोबार रकमका आधारमा बिहीबार नेपाल पुनर्बिमा कम्पनी छ ।

कम्पनीको २२ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ९५ लाख भन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।