नेयमार लयमा फर्किएका छन् : प्रशिक्षक टुचेल

11

एजेन्सी । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक थोम टुचेलले नेयमार राम्रो अवस्थामा रहेको बताएका छन् । उनले नेयमार लयमा रहेका कारण पीएसजीलाई थप तीन ट्रफीका लागि मद्दत पुग्ने बताएका हुन् ।

लिग वान सिजन छोटो भएपछि पीएसजीले लियोनसँग कुपे डि ला लिग फ्रान्सको फाइनल खेल्दै आफ्नो अभियान सुरु गर्नेछ । खेल अर्को शुक्रबार राति हुनेछ ।

लिओनविरुद्ध कुपे डे ला लिग फ्रान्सको फाइनलभन्दा पीएसजीे अगस्त १२ बाट सुरु हुने च्याम्पियन्स लिगको तयारीमा केन्द्रित छ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटर–फाइनलमा एटलान्टासँग खेल्नेछ ।

च्याम्पियन्स लिगको तयारीका क्रममाः पीएसजीले पछिल्ला दिनहरूमा तीनवटा मैत्रीपूर्ण खेल खेल्यो । जहाँ नेयमारले उत्कृष्ट प्रदर्शन गरेका छन् । मैत्रीपूर्ण खेलमा नेयमारले शीर्ष लयमा रहँदै आक्रमणको जिम्मेवार नेतृत्व गरेको प्रशिक्षक टुचेलले बताएका छन् ।

“नेयमार लयमा फर्किंदा म अचम्ममा छैन । किनकि उनी त्यही क्षमताका खेलाडी हुन् । अहिले नेयमार उत्कृष्ट मानसिक स्थितिमा फर्किएका छन्,” प्रशिक्षक टुचेलले भने, “उनी प्रशिक्षणका क्रममाः सबैभन्दा छिटो आफूलाई परिवर्तन गर्दै छन् । यतिवेला उनी एकदम छिटो वेगमा उठ्दै छन् ।”

नेयमार मैत्रीपूर्ण खेलमा आश्चर्यजनक शारीरिक फिट देखिए पनि सम्भावित घाइते हुनसक्ने चिन्ता रहेको प्रशिक्षक टुचेलले स्वीकारेका छन् ।