दाङमा जीप दुर्घटनाः एकको मृत्यु, ४ जना घाइते

8

१ साउन, दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १६ वर्षीय पदम वलीको मृत्यु भएको छ।

वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार विहान मृत्यु भएको हो।

घाइतेमध्ये सोही ठाउँका २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपल श्रेष्ठको अवस्था गम्भीर छ।

गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी प्रबक्ता समुति खड्काले जानकारी दिएका छन्।

डिएसपी खड्काका अनुसार जीपका चालक तुलसीपुर १५ कै ३८ वर्षीय भिमबहादुर वली र सोही ठाउँकै १७ वर्षीय विशाल वली पनि घाइते भएका छन्। उनीहरुको घोराहीमै उपचार भइरहेको छ।

बिहीबार विहान साढे ५ बजेतिर कपिलबस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ९६६२ नम्वरको बोलेरो जीप घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोटमा दुर्घटनामा परेको थियो।

प्रहरीका अनुसार जीप अनियन्त्रित भइ पहाडको भित्तामा ठोक्किएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।