19.1 C
Kathmandu
 

लकडाउनमा सहकारी : ऋण लिन ग्राहक डराए, बचतमा आकर्षण

काठमाडौं । सरकारले आह्वान गरेको लकडाउनको अवधिमा सहकारीमा हुने बचतमा आकर्षण देखिएको छ । कोभिड–१९ रोग सिर्जित परिवेशमा बढी ब्याज पाउने आशामा सहकारीमा जम्मा गरिने रकमको परिमाण बढेको देखिएको हो ।

लकडाउनका कारण लगानीको वातावरण बिग्रेको छ भने निर्माण क्षेत्रलगायत सेवाको क्षेत्र पनि सुस्ताएको छ । यता आयात निर्यातमा पनि कमी आएको हुँदा समग्र आपूर्ति सञ्जालमा प्रतिकूल प्रभाव परेको छ । यता बैंक तथा वित्तीय संस्थाबाट पाउने ब्याजभन्दा सहकारीबाट बढी आशाका कारण सहकारीमा रकम जम्मा गर्ने आकर्षण बढेको सहकारी विभागले गरेको एक अध्ययनमा देखिन्छ ।

यसैगरी पुरानो ऋण फिर्ता भएको छ भने नयाँ ऋण प्रवाह भएको छैन । विभागबाट भएको एक अध्ययनमा चैत ११ देखि जेठ मसान्तसम्म सहकारीबाट हुने ऋण प्रवाह भने घटेको देखिन्छ । अध्ययनअनुसार आर्थिक गतिविधि कम हुँदा ऋण लगानी भने घटेको छ ।

विभागले गरेको अध्ययनअनुसार केन्द्रिय संघ, बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय सहकारी र कृषि तथा दूध सहकारीको सालाखाला औसत विवरणमा कुल बचत संकलन ८.६३ प्रतिशत तथा तरलता २.७५ प्रतिशतले बढेको देखिन्छ । त्यसैगरी, कुल सम्पत्ति पनि ४ प्रतिशतभन्दा बढिले वृद्धि भएको अध्ययनले देखाउँछ । यसबीचमा ऋण लगानी भने झन्डै २ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ । अध्ययनले बचतको प्रभावकारी परिचालन अहिलेको टड्कारो आवश्यकता देखिएको उल्लेख गरेको छ ।

अध्ययनमा २ वटा केन्द्रीय संघ, १७ वटा बचत तथा ऋणको कारोबार गर्ने गरी स्थापना भएका बचत तथा ऋण सहकारी संस्था, नौवटा बहुप्रकृतिका कारोबार गर्ने गरी स्थापना भएका बहुउद्देश्यीय सहकारी संस्था र केही कृषि तथा दुग्धको मुख्य कारोबार गर्ने गरी स्थापना भएका विषयगत प्रारम्भिक संस्थासमेत गरी जम्मा ३० वटा सहकारी संघ तथा संस्था छनोट गरी ४ समूहमा विभाजन गरेर विश्लेषण गरिएको छ ।

सहकारी विभागको उपरजिस्ट्रार, शाखा अधिकृतसमेत गरी १८ जनाले गरेको अध्ययनले सहकारीले लिनुपर्ने तथा दिनुपर्ने दायित्व, संस्थाको सञ्चालन नाफालगायत कुल सम्पत्ति र दायित्वमा परेको असरको मूल्यांकन गरेको हो ।

अध्ययनले नीति कार्यान्वयनको प्रभावकारिताको आकलन गर्न नियमित अनुगमन र नियमन जरुरी रहेको औंल्याएको छ । हाल मुलुकमा रहेका करिब ३४ हजार सहकारी संस्थामध्ये ९९ प्रतिशतभन्दा बढी संस्था स्थानीय तह र प्रदेश सरकारको प्रत्यक्ष नियमन क्षेत्रभित्र पर्छन् तर ती निकायको प्राथमिकतामा सहकारी क्षेत्र पर्न सकेको छैन ।

सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको तेस्रो खुट्टाका रूपमा स्वीकारिएको छ तर सहकारी क्षेत्र एक किसिमले बेवारिसे जस्तो देखिएको छ । यस्तो अवस्थामा संघीय सरकारले विशेष भूमिका खेल्नुपर्ने सहकारी विभागको दाबी छ । विभागले सहकारी क्षेत्रको नियमन अनुगमन गरी राज्यको (सरकारको) मूलप्रवाहमा हिँडाउन संघीय सरकारको मातहत रहने गरी सातवटै प्रदेशमा एक–एक सहकारी प्रदेश कार्यालय स्थापना गर्नुपर्ने सुझाव पनि दिएको छ ।

अध्ययनका मुख्य खोजहरू :

क. केन्द्रीय संघतर्फ तरलता ८ प्रतिशत र कुल सम्पत्ति करिब १३ प्रतिशतले बढेको छ । त्यसैगरी जम्मा बचत १५ प्रतिशतले बढेको पाइए पनि ऋण तथा बचतको अनुपात भने १० प्रतिशतले घटेको छ । जम्मा ऋण लगानीमा पनि करिब ३ प्रतिशतले संकुचन आएको देखिन्छ ।

यसरी दुवै संस्थाको बचत बढ्नुको मुख्य कारण बन्दाबन्दीले लगानीका अवसरलाई खुम्च्याएको हो भन्न सकिन्छ जसको कारण तरलता समेत बढ्न गएको छ ।

ख. बचत तथा ऋण सहकारी संस्थातर्फ १७ मध्ये १२ संस्थाको कुल सम्पत्ति र १५ संस्थाको बचत संकलन बढेको देखिएको छ ।

समग्रमा यो समूहको जम्मा बचत रकम १.६ प्रतिशत र तरलता १ प्रतिशतले वृद्धि भएको पाइएको छ । बचत र तरलता बढ्दाबढ्दै पनि ऋण लगानीमा करिब २.८ प्रतिशत घटेको हुनाले बचत र ऋणको अनुपात करिब ४ प्रतिशतले घटेको पाएको छ । समग्रमा कुल सम्पत्ति ०.५४ प्रतिशतले घटेको देखिएको । यस समूहतर्फ बन्दाबन्दीले समग्रतामा वित्तीय कारोबारमा संकुचन आएको देखिन्छ । यसले केही हदसम्म राज्यको उत्पादन र सेवा क्षेत्रमा असर पारी पुँजी परिचालनमा पनि नकारात्मक प्रभाव पारेको विभागको अध्ययनको निष्कर्ष छ ।

ग. बहुप्रकृतिको कारोबार गर्ने गरी स्थापना भएका बहुउद्देश्यीय संस्थाको बहुप्रकृतिको कारोबार बचत तथा ऋणको कारोबारको तुलनामा धेरै कम छ । चारवटा संस्थाको बचत बढेको देखिए तापनि सबै नौवटै संस्थाको लगानी घटेको छ ।
यस अवधिमा यस्ता सहकारीको कुल सम्पत्तिमा ०.५५ प्रतिशत र तरलतामा १ प्रतिशतले बढोत्तरी भएको छ । ऋण तथा बचत अनुपात २.५ ले घटेको भए तापनि जम्मा बचत संकलन भने करिब १.५ प्रतिशतले बढेको छ । बन्दाबन्दीका कारणले लगानीका अवसर बढ्न नसकेकै कारणले ऋण लगानी १.६४ प्रतिशतले कमी आएको छ ।

घ. कृषि तथा दुग्धतर्फ संस्थाको वित्तीय कारोबारमा केही उतार–चढाव देखिए पनि मुख्य कारोबार (दुग्ध पदार्थ) मा भने बन्दाबन्दीले कुनै असर गरेको देखिएको छैन । दुग्ध संकलन अर्थात् खरिद–बिक्री दुवै कारोवार बढेको छ । दुग्ध पदार्थको खरिद (परिमाणगत) २३ प्रतिशतले र बिक्री २४.९ प्रतिशतले बढेको छ । त्यसैगरी मूल्यगत रूपमा हेर्दा खरिद २३.६ प्रतिशतले बढ्दा बिक्री २५.३ प्रतिशत ले बढेको देखिन्छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर