घरबेटीले कोठा भाडा माग्यो सरकार भन्दै ट्याक्सी चालक तथा व्यवसायी सडकमा उत्रिए

17

मङ्गलवार बिहानै ट्याक्सी चालक सडकमा उत्रिएका छन्। उनीहरू लक डाउनका कारण ट्याक्सी चलाउन नपाएको भन्दै शान्ति पूर्ण प्रदर्शनमा उत्रिएका हुन्।

व्यवसायीहरू मङ्गलवार बिहानै प्ले कार्ड सहित नयाँ बानेश्वर–तीनकुने सडक खण्डको किनारमा ट्याक्सी राखेर प्रदर्शनमा उत्रिएका हुन्।ट्याक्सी चालक तथा व्यवसायीहरूले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् । सो क्षेत्रमा उल्लेख्य सङ्ख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरू खटाइएको छ ।

सरकारले कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।