22.1 C
Kathmandu
 

सन्दीपको अपत्यारिलो फड्को

काठमाडौं । सन्दीप लामिछाने, नेपाली क्रिकेट टोलीका एक मुख्य खेलाडी हुन् । विगत केही वर्षदेखि सन्दीपले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि क्रिकेटबाट बेग्लै पहिचान बनाउन सफल भएका छन् ।

उनले नेपाली टोलीका लागि पनि धेरै खेलमा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाली यू-१९ क्रिकेट टोलीबाट आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्दीपलाई राष्ट्रिय टोलीमा पर्न भने धेरै संघर्ष गर्नुपरेन ।

सन्दीपले राष्ट्रिय टोलीबाट जुन पहिचान बनाए त्योभन्दा धेरै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूबाट उनी सफल देखिए । सफलता र पहिचानसँगै उनको आर्थिक पाटो पनि जोडिएको छ । जति-जति सन्दीपले अन्तर्राष्ट्रिय स्तरका लिगहरू खेल्दै जान्छन् उनको कमाइको स्रोत पनि उति नै बढ्दै गएको छ ।

यसरी लामो समयसम्म अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलिरहे भने उनी धनी खेलाडीको सूचीमा स्थापित गर्नसमेत सफल हुनेछन् । हाल उनी नेपालमै धनी खेलाडीको सूचीमा पर्छन् । सानो उमेरमै विश्‍व क्रिकेटमा एक उचाइ चुमिसकेका सन्दीप अझै सफल बन्ने तयारीमा छन् । उनी विश्‍वस्तरका ठूला लिगहरूमा अनुबन्ध हुँदै राम्रो खेल जीवन बनाउने योजनामा छन् ।

सन्दीपको सफलताका पछाडि दुई वर्ष विभिन्‍न फ्रेन्चाइज लिग र राष्ट्रिय टोलीबाट गरेको प्रदर्शन नै मुख्य मानिन्छ । पछिल्लो समय सन्दीप अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिताकै उत्कृष्ट खेलाडीको सूचीमा पर्न सफल भएका छन् । सन् २०१८ देखि उनले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरूमा आफ्नो खेल क्षमतासँगै आर्थिक रूपमा पनि आफूलाई बलियो बनाइरहेका छन् ।

सन्दीप विश्‍वचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) बाट टी-ट्‍वान्टी फ्रेन्चाइज लिगमा डेब्यू गरे । त्यसपछि उनले विश्‍वस्तरका फ्रेन्चाइज लिगहरूमा अनुबन्धका लागि फर्केर हेर्नुपरेन । आईपीएलमा पहिलोपटक अनुबन्ध हुँदा उनको मूल्य भने जम्मा २० लाख भारु थियो । उनी आईपीएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भए ।

पछिल्लो केही वर्षको प्रदर्शनका कारण सन्दीप अहिले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा एक लाख पाउन्डभन्दा धेरै रकममा अनुबन्ध हुने खेलाडीका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । भारतीय क्लब दिल्ली डेयरडेभिल्समा सन्दीपले करिव तीन वर्षको सम्झौता गरेका छन् । उनको सम्झौता सकिनेबित्तिकै सन्दीपको आईपीएलमा पनि अनुबन्धको रकम धेरै हुने पक्का छ ।

सन्दीप गत कात्तिकमा दी हन्ड्रेड बलमा करिब एक करोड ४७ लाख नेपाली रुपैयाँमा अनुबन्धित भए। दी हन्ड्रेड बलमा सन्दीपलाई ओभल इन्भिन्सिबलले एक लाख पाउन्डमा अनुबन्ध गर्‍यो । दी हन्ड्रेड बलको ड्राफ्टमा एक लाख २५ हजार पाउन्डको समूहपछि सन्दीप रहेको समूह दोस्रो महँगो थियो । पछिल्लो केही महिनाको अवधिमा विभिन्‍न टी-ट्‍वान्टी खेल खेल्दै सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा सन्दीपले आफूलाई उभ्याएका छन् । उनले १६ खेलबाट २८ विकेट लिएका छन् ।

सन्दीपको २०१८ मा आम्दानी
सन्दीपले क्यानडा ग्लोबलमा ४० हजार डलरमा अनुबन्ध भएका थिए । उनी २०१८ मा सो क्लबमा अनुबन्ध भएका हुन् । त्यस्तै उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पाँच हजार डलरमा अनुबन्ध भए । उनी अफगानिस्तान प्रिमियर लिगमा पनि १५ हजार डलरमा अनुबन्ध भए । त्यसयता उनी यूएईको टी-टेन लिगमा ३० हजार डलरमा अनुबन्ध भए ।

सन्दीप अस्टे«लियामा आयोजना हुने बिगबास लिगमा पनि ६० हजार डलरमा अनुबन्ध भए । सन्दीप बंगलादेश प्रिमियर लिगमा पनि सोही रकममा अनुबन्ध भए । उनी पाकिस्तान सुपर लिग पीसीएलमा ५० हजार डलरमा अनुबन्ध भए । यसरी हेर्दा सन्दीप २०१८ मै नेपालको सर्वाधिक धनी खेलाडीमा आफ्नो पहिचान बनाएका थिए ।

सन्दीपको २०१९ मा आम्दानी
सन्दीप लामिछानेले सन् २०१९ मा २० लाख भारतीय रुपैयाँ आम्दानी गरे । त्यसपछि उनी यूएईमा ४५ हजार डलरको आम्दानी गर्न सफल भए । पहिलो सिजनमा उनी टी-टेन लिगमा ३० हजार डलर कमाएका छन् । एउटै वर्षमा उनले करिब १५ हजार डलरको फरकमा अनुबन्ध हुन सफल भए ।

हालसम्मको महँगो मूल्य पनि दी हन्ड्रेड बल बेलायतको एक लाख पाउन्डमा अनुबन्ध हुन उनी सफल भए ।

सन्दीपको २०२० मा आम्दानी
सन्दीपले २०२० मा पनि आईपीएलमा खेल्नेछन् । कोरोना भाइरसका कारण स्थगित हुँदा खेल सुरु हुन भने सकेको छैन । सन्दीपले यो सिजन पनि आईपीएलमा २० लाख भारतीय रुपैयाँ पाउनेछन् ।

सन्दीप वेस्ट इन्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्‍वान्टी क्रिकेटको ड्राफ्टमा परिसकेका छन् । तेस्रोपटक ड्राफ्टमा परेका सन्दीपले ड्राफ्टमा आफ्नो नाम ९० हजार अमेरिकी डलरको (१ करोड ८ लाख नेपाली रुपैयाँ) सूचीमा राखेका छन् ।

सन्दीप अहिलेसम्म आबद्ध भएका लिगमा उनको आम्दानी
२०१८- आईपीएल (भारत) – २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०१८ – ग्लोबल टी-ट्‍वान्टी (क्यानडा) – ४० हजार अमेरिकी डलर
२०१८- क्यारेबियन प्रिमियर लिग (वेस्ट इन्डिज) – ५ हजार अमेरिकी डलर
२०१८ अक्टोबर – अफगानिस्तान प्रिमियर लिग (अफगानिस्तान) – १५ हजार अमेरिकी डलर
२०१८ नोभेम्बर – टी-टेन लिग (यूएई) – ३० हजार अमेरिकी डलर
२०१८ डिसेम्बर – बीबीएल (अस्ट्रेलिया) – ६० हजार अमेरिकी डलर
२०१९ जनवरी – बीपीएल (बंगलादेश) – ६० हजार अमेरिकी डलर
२०१९ फेब्रुअरी – पीएसएल (पाकिस्तान) – ५० हजार अमेरिकी डलर
२०१९ मार्च – आईपीएल (भारत) – २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०१९ अगस्ट – ग्लोबल टी-ट्‍वान्टी (क्यानडा) – ६० हजार अमेरिकी डलर
२०१९ सेप्टेम्बर- क्यारेबियन प्रिमियर लिग (वेस्ट इन्डिज) – ७० हजार अमेरिकी डलर
२०१९ नोभेम्बर- टी-ट्‍वान्टी लिग (यूएई) – ४५ हजार अमेरिकी डलर
२०१९ डिसेम्बर- बीबीएल (अस्ट्रेलिया) – ६० हजार अमेरिकी डलर
२०२० अप्रिल- आईपीएल (भारत) – (२० लाख भारु)
२०२० जुलाई – दी हन्ड्रेड लिग (इंग्ल्यान्ड) – एक लाख २९ हजार (१ करोड ४३ रुपैयाँ)

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर