बार्सिलोना शिर्ष स्थानमा उक्लियो

8

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाले एथ्लेटिकमाथी १-० को संघर्षपैर्ण जित निकालेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले अग्रता लिएको थियो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल इभान राकिटिचले गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको छ मिनेट नबित्दै उनले गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७१ औं मिनेटमा राकीटिचले गोल गर्दै अग्रता दिलाएका थिए । कप्तान लियोनल मेस्सीले गरेको प्रहार एथ्लेटिकका डिफेन्डरलाई लाग्दै फर्किएको बलमा राकीटिचले गोल गरेका हुन् ।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा उक्लिदै दोस्रो स्थानको रियल मड्रिडलाई तीन अंकले पछि पारेको छ । बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोड्दा एक खेल कम खेलेको मड्रिडको ६५ अंक रहेको छ । यता पराजित बिल्बाओ भने ३१ खेलमा ४२ अंकसहित दशौं स्थानमा छ ।