23.1 C
Kathmandu
 

कांग्रेसको नजरमा कुन दल कस्ता ?

२६ मंसिर । प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपालाई दुइतिहाइको दम्भले सर्वसत्तावादी बनाएको, मधेसी दल जातीय क्षेत्रीयतावादी हुँदा लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नलागेको र राप्रपालाई राजतन्त्र फर्काउन लागेको अलोकतान्त्रिक पार्टीका रूपमा व्याख्या गरेको छ । २८ मंसिरदेखि हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावमा कांग्रेसले प्रमुख राजनीतिक दलबारे यस्तो टिप्पणी गरेको हो ।

कांग्रेसको नजरमा चार धार
कांग्रेसले राजनीतिक प्रस्तावमा नेपालमा अहिले चारवटा राजनीतिक धार रहेको टिप्पणी गरेको छ । पहिलोमा आफैँलाई राख्दै राष्ट्रियतासहित स्वतन्त्रताको सार्वभौम सिद्धान्त, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र मान्ने विचार भएको उल्लेख गरेको छ । दोस्रो, एकदलीय निरंकुशता र जनवादी केन्द्रीयता लागू गर्न चाहने र जनताका स्वतन्त्रतामाथि नियन्त्रण गर्न चाहने कम्युनिस्ट विचारको नेकपा, तेस्रो परम्परावादी राजावादी दक्षिणपन्थी विचार र चौथोमा जातीय अतिवाद र क्षेत्रीय अतिवादका मधेसी दल रहेको कांग्रेसको टिप्पणी छ ।

सरकार संघीयताप्रति उदासीन
संघीयताप्रति उदासीनता, संविधानप्रति अपनत्व विस्तारमा अवरोध, प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण, विरोधी स्वर नियन्त्रणको प्रयत्न र सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेपको शैलीले सरकार अधिनायकवादको दिशामा अघि बढिरहेको आरोप लगाएको छ ।

बुधबार पनि बैठक बस्दै
उपसभापति निधिद्वारा केन्द्रीय कार्यसमितिमा प्रस्तुत प्रस्तावमाथि मंगलबार चित्रलेखा यादव, डा. नारायण खड्का, फरमुल्लाह मन्सुर, नवीन्द्रराज जोशी, कमला पन्त, शंकर भण्डारी, केशवकुमार बुढोथोकी, आमन्त्रित केन्द्रीय सदस्यद्वय आनन्द (गोरख) विष्ट र रमा कोइराला पौडेलले धारणा राखे । बुधबार पनि कांग्रेस बैठक बस्नेछ । महामन्त्री डा. शशांक कोइरालाले मंगलबार नै केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

नेकपा : एकदलीय वर्चस्व स्थापित गर्ने नियत
कांग्रेसले संसद्मा दुईतिहाइसरहको शक्ति आर्जन गर्नासाथ लोकतन्त्रको आवरणमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न लागेको भन्दै उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । ‘यो एकताको मुख्य उद्देश्य नै लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट सत्ता र राज्यमा कम्युनिस्टहरूको एकतर्फी एकदलीय वर्चस्व स्थापित गर्ने नियत स्पष्ट छ,’ उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रस्तावमा भनिएको छ, ‘निर्वाचनपछि कम्युनिस्टहरूको एउटै दल बनाउने र राज्यलाई कम्युनिस्ट पार्टीअन्तर्गत चलाउने काम तीव्र रूपमा अगाडि बढिरहेको छ ।’ कम्युनिस्टहरूको लोकतान्त्रिक प्रक्रियामा सहभागिता एउटा छलछाम र धोखाधडी हो भन्न आफूहरू बाध्य भएको कांग्रेसको भनाइ छ ।

राप्रपा : लोकतन्त्रविरोधी
निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्नुका साथै देशमा निरंकुश सत्ता कायम गरे पनि राप्रपाले संवैधानिक राजतन्त्रको मूल्य र मान्यतालाई पूर्णतः परित्याग नगरेको भन्दै लोकतन्त्र र लोकतान्त्रिक शक्तिविरुद्ध सक्रिय रहेको आरोप लगाएको छ । ‘राजावादी एवं परम्परावादीहरूको दलका रूपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न घटकहरूको जनताद्वारा विस्थापित राजतन्त्रलाई पुनस्र्थापना गर्नेलगायतका दृष्टिकोण र क्रियाकलाप लोकतान्त्रिक प्रणालीसँग मेल खाँदेैनन् भन्ने स्पष्ट छ,’ कांग्रेसले भनेको छ ।

मधेसी दल :क्षेत्रीय अतिवादी
मधेसकेन्द्रित दलहरू लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नभएको आरोप कांग्रेसले लगाएको छ । ‘उनीहरूले उठाई आएका कतिपय जातिवादी, क्षेत्रीय अतिवादी तथा घोर साम्प्रदायिक कुराहरूले राष्ट्रियता, संघीयता तथा लोकतन्त्रलाई प्राथमिकता दिइरहेका छैनन्,’ मधेसी दलबारे भनिएको छ ।

नयाँ शक्ति र विवेकशीलका मान्यता स्थापित हुन बाँकी
नयाँ दलका रूपमा उदाउँदै गरेका दुई दललाई भने कांग्रेसले फरक उपमा दिएको छ ।
नयाँ शक्ति पार्टी र विवेकशील साझाजस्ता दलहरूको आरम्भ भर्खर भएकाले उनीहरूको सिद्धान्त र मान्यता स्थापित नभइसकेको भनाइ कांग्रेसको छ ।

के छन् कांग्रेसको राजनीतिक प्रस्तावमा ?
कांग्रेसले संविधानसभाबाट संविधान निर्माण गर्ने दशकौँ लामोअघिको चाहना आफ्नै नेतृत्वमा संविधान बनाएर पूरा भएको भन्दै गर्वको विषय भएको जनाएको छ । राजनीतिक प्रस्तावमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संघीयतालाई कांग्रेसले प्रस्ट्याएको छ । यी मुद्दामध्ये संघीयताको कार्यान्वयनमा कतैबाट पनि हस्तक्षेप नसहने भनाइ कांग्रेसको छ । ‘प्रदेशहरू राज्यका स्वशासित एकाइ हुन् ।

केन्द्रबाट प्रदेश तथा स्थानीय सरकारमाथि संविधानविपरीत हस्तक्षेप गरिँदा कांग्रेस मौन बस्ने छैन । त्यस्तो हस्तक्षेपलाई सशक्त प्रतिवाद गर्ने र सक्रिय विरोध गरिनेछ,’ प्रस्तावमा भनिएको छ, ‘कांग्रेसका तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले त्यस्ता विधानविपरीतका नियन्त्रणकारी कार्यको सक्रिय विरोध गर्नेछन् ।’

संविधानको विकास र प्रतिरक्षा, बहुलवादी खुला र समतामूलक संस्कृति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई प्रभावकारी परिचालन गर्दा संगठन बलियो हुने विषय उल्लेख छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति शीर्षकमा कांग्रेसले परराष्ट्रनीतिमा सबैको एउटै आवाज, एउटै व्यवहार कायम गरेर कूटनीतिक मर्यादाको पालना गर्ने आन्तरिक राजनीतिमा बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय सिद्धान्तप्रति विश्वास भएको जनाएको छ ।

कमजोर हुनाको कारण नै उल्लेख छैन
राजनीतिक प्रस्तावमा कांग्रेस निर्वाचनमा कसरी कमजोर भयो र अब के गर्ने भन्ने विषय प्रस्टताका साथ उठाइएको छैन । तर, नयाँ पुस्तालाई कांग्रेसका आदर्श, सिद्धान्त, आचरण र कर्मबारे अझ जानकार गराउनु आवश्यक भएको जनाएको छ ।

प्रस्तावमाथि भाग लिँदै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कहाँ कमजोरी भयो र अब के गर्ने भन्नेमा प्रस्ट योजना नै नआउनु आश्चर्यको विषय भएको बताए । ‘आगामी दिनमा कसरी बलियो पार्टी बनाउने ? निर्वाचनमा पराजित भएपछि नयाँ एजेन्डालाई कसरी उठाउने भन्नेमा विषयमा राजनीतिक प्रस्ताव मौन छ,’ जोशीले भने, ‘हामी किन यत्ति कमजोर भयौँ भन्नेमा सटिक विश्लेषण गर्नुपर्छ । अन्यथा हामी फेरि कमजोर हुन्छौँ ।’नयाँपत्रिकाबाट

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर