मंसिर २४, काठमाडौं– राष्ट्रिय सभाको दिगो विकास सुशासन समितिका सासंदहरूले कञ्चनपुरको भीमदत्तनगर- २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यापछिको अनुसन्धानबारे प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालसँग जवाफ मागेका छन्।
समितिको कार्यालय सिंहदरबारमा सोमबार आइजिपी खनालसँग सांसद दीनानाथ शर्मा, कविता बोगटी, प्रमिलाकुमारी यादव, कालीबहादुर मल्ल, मुक्ता तिवारी यादव, रमेशजंग रायमाझीलगायतले आइजिपी खनालसँग निर्मला पन्तको अनुसन्धान र देशको सम्रग शान्तिसुरक्षाको अवस्थाबारे जानकारी माग गरेका थिए।
सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आइजिपी खनालले निर्मला पन्तको अनुसन्धानको दायरा साँघुरो बन्दै गएको बताए। अनुसन्धानको प्रारम्भिक चरणमै गल्ति गरेको पाइएकाले अनुसन्धान केही जटिल भएको आइजिपीको भनाइ थियो। बालिका पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसक्दा आफूलाई रातभर निद्रा समेत नपरेको आइजिपी बताएका थिए। ‘चिन्ता लागेर निन्द्रा पनि नलाग्ने अवस्था छ। चिन्ता छ, कि छैन भन्ने जिज्ञासामा चिन्ताको विषय यहाँ जाहेर गरें’ आइजिपी खनालले भने।
नेपाल प्रहरीले आफ्नो सामर्थ्यले भ्याएसम्म काम गरिरहको आइजिपी खनालले बताए। प्रहरीको अनुसन्धानमै शंका गर्ने ठाउँ भएको भन्ने सांसदहरुको प्रश्नमा आइजिपी खनालले भने, ‘नेपाल प्रहरीले गरेका अथवा मैले नेतृत्व गरेको संगठनको काम व्यवसायिकताबाट एक रौं तथा एक कसुर कतै तलमाथि गरेको अवस्था छैन। गर्न दिएको पनि छैन।’
निर्मला पन्तको हत्यारा शक्तिशाली मान्छे रहेको र त्यसैको प्रेसरमा नेपाल प्रहरीले काम नगरेका भन्ने प्रश्नमा आइजिपी खनालले अनुसन्धानमा कसैको दबाब र प्रेसर नभएको बताए। अनुसन्धानमा आइजिपीले यसो गर्यो, उसो गर्यो भन्ने ठाउँ नभएको भन्दै उनले भने, ‘अनुसन्धानमा कँही कतै मेरो गल्ती थाहा भए संसदमा राखेर यो मेरो बर्दी खोलिदिए हुन्छ।’
त्यस्तै, समग्र देशको शान्तिसुरक्षाको अवस्था पनि राम्रो रहेको आइजिपी खनालको दाबी छ। ३ सय ४७ जना विप्लवका कार्यकर्ता र ९४ जना सिके राउतका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको पनि उनले जानकारी दिए।
‘शान्तिसुरक्षाको अवस्थामा राम्रो बन्दै आएको छ। चन्दा माग्यो भन्ने कुरा पनि पहिलेको जस्तो अहिले छैन। डोजर जलाए, आगलागी भए भन्ने जस्तो अपराध पनि अहिले छैन’, आइजिपी खनालले भने, ‘प्रहरीले गरेका राम्रा कामलाई पनि हेर्ने गर्नुपर्छ।’