काठमाडौँ, २४ मङ्सिर । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको हो ।
काठमाडौँको आजको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम निरन्तर घट्दै गए काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने अनुमान गरिएको छ । पानी पर्ने कुनै सम्भावना नरहेको विभागका मौसविद् गङ्गा नगरकोटीले बताउनुभयो । सिमरा, ताप्लेजुङ, जुम्लाको तापक्रम भने माइनसमा झरेको छ ।