काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमण गरेर आज स्वदेश फर्किनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।
राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा गएको शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ पोल्याण्डको कातोबीचमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी कोप २४ को उद्घाटन समारोहमा सहभागी भएर आउनुभएको हो ।
उहाँसँगै सांसद पूर्णाकुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल, रामसहायक प्रसाद यादव, चन्द्रा चौधरी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रपति कार्यालयका अधिकारी, परराष्ट्र र वन मन्त्रालयका अधिकारी भ्रमण टोलीमा सहभागी थिए ।