राति ८ देखि १० बजेसम्म मनोरञ्जनात्मक गतिविधिमा इन्टरनेट खर्च नगर्न आग्रह : वर्ल्डलिंक टेलिकम्युनिकेसन

44

काठमाडौं । वर्ल्डलिंक टेलिकम्युनिकेसनले आफ्ना उपभोक्तालाई उच्चतम इन्टरनेट प्रयोग हुने समयमा अनावश्यक गतिविधि नगर्न आग्रह गरेको छ । कम्पनीले उपभोक्तलाई इन्टरनेट उच्चतम खपत हुने समय अर्थात् राति ८ देखि १० बजेसम्म मनोरञ्जनात्मक गतिविधिमा इन्टरनेट खर्च नगर्न आग्रह गरेको हो ।

कम्पनीले भनेको छ, “चापको उत्कर्ष (राति ८–१० बजेसम्म) समयमा हामीमध्ये कसैलाई इन्टरनेट सोचे जति छिटो नहुन सक्छ । हामी हाम्रा सबै प्रयोगकर्ताहरूलाई उक्त समयमा मनोरञ्जनात्मक कार्यलाई प्राथमिकता नदिन हुन अनुरोध गर्दछौं । यसको मतलब हाम्रो अनलाइन गेम र भिडियो हेर्ने समयमा कटौती गर्नु हो ।”

कोरोना भाइरस महामारीका रूपमा फैलिरहँदा घरमा बस्नेहरूले धेरै नै ब्यान्डविथको प्रयोग गर्ने गरेको कम्पनीको दाबी छ । यसले गर्दा घरमै बसेर काम गर्नेलाई गुणस्तरीय इन्टरनेट प्राप्त गर्न बाधा पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इन्टरनेट उपभोगमा उल्लेखनीय वृद्धि भएको बताएको छ । र, यस्तो अवस्थामा मागअनुसारको ब्यान्डविथ आपूर्ति गर्नका लागि आफ्नो नेटवर्कको क्षमता थप वृद्धि गर्नु आवश्यक हुन्छ । तर, विश्वव्यापी रूपमा फैलिएको कोरोनाको आतंकको कारण कम्पनीको अवस्था सुधार नभएसम्म अप्रत्यासित माग पूरा गर्न अझ बढी क्षमता थप्न नसक्ने वर्ल्डलिंकले जनाएको छ ।

कम्पनीले आफ्ना प्रयोगकर्तालाई डिजिटल भुक्तानी सेवबाट शुल्क भुक्तानी गर्न आह्वान पनि गरेको छ ।

यसैगरी यस समयमा प्रयोगकर्तालाई राउटरहरू र अन्य इन्टरनेट सम्बन्धी उपकरणहरू एक ठाउँबाट अर्को ठाउँमा नसार्नका लागि अनुरोध गरिएको छ ।