काठमाडौं, ६ मंसिर । सरकारले पहिलो चौमासिकको अवधिमा बजेट खर्चको स्थिति सन्तोषजनक नभएको स्वीकार गरेको छ । पहिलो चौमासिकको समीक्षा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट खर्चको स्थिति सन्तोषजनक नरहेको स्वीकार गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली सहित हिजो सिंहदरबारमा बसेको बैठकमा भौतिक पूर्वाधार, उर्जा, शहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणको बजेट कार्यान्वयनको अवस्थाबारे समिक्षा भएको हो । छलफलमा मन्त्रीहरुले मन्त्रालयको आन्तरिक, अन्तरमन्त्रालयगत समस्या लगायतका कारण बजेट खर्च हुन नसकेको बताएका छन् ।
प्रधानमन्त्रीले बजेट र नीति तथा कार्यक्रममा भएका कार्यक्रमलाई छिटो कार्यान्वयन गर्ने र प्रथम चौमासिकमा पूरा हुन नसकेका लक्ष्यलाई अर्को चौमासिकको समीक्षासम्ममा पूरा गर्न निर्देशन दिनुभएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।