बुटवल । विभागीय टोली एपिएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफको जितमा युवराज खड्काले गरेको गोल नै निर्णायक साबित भयो ।
दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा केही उत्कृष्ट अवसर बुनेका थिए । तर, फिनिसिङमा चुक्दा गोल भने निकाल्न सकेनन् । त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकर उन्मुख थियो । तर, थप गरिएको ६ मिनेटको इन्जुरी समयलाई युवराजले सफलतापूर्व सदुपयोग गर्दै खेल दोस्रोपल्ट टाइब्रेकरमा पुग्नबाट रोके ।
उनले ९४औं मिनेटमा सुजन पुलामीसँग उत्कृष्ट तालमेल मिलाएका थिए । उनको सर्ट पासलाई सुजनले एक्लैले पेनाल्टी बक्सनजिक पु¥याएर लामो प्रहार गरेका थिए । तर, उक्त प्रहार संकटाका गोलकिपर विशाल केसीले सही जर्जमेन्ट गरे पनि बचाउन सकेनन् ।
अनुभवमा कमी देखिएका विशालको हातबाट बल फुत्किएसँगै रिबाउन्डमा युवराजले गोल गरेका हुन् । योसँगै एपिएफको जित सुनिश्चित भयो । एपिएफले पहिलो क्वार्टरफाइनलमा आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
काठमाडौंमा सभापती कप जित्दै मोफसल ओर्लिएको संकटाले भने तेस्रो क्वार्टरफाइनलमा जर्जियन फुटबल क्लब, कालिम्पोङ भारतलाई ४–० ले हराउँदै एपिएफसँगको भेट पक्का गरेको थियो । तर, यो भेट संकटाका लागि सम्झनयोग्य रहेन र सेमिफाइनलबाट बाहिरियो । खेलको ‘म्यान अफ द म्याच’ युवराज नै घोषित भए र ११ हजार १११ रुपैयाँ हात पारे ।