काठमाडौं, २ मंसिर । भोलि हरिबोधिनी वा प्रबोधिनी एकादशी । हिन्दुधर्ममा कात्तिक शुक्लपक्षको प्रबोधनी एकादशी व्रत बस्नाले पापको नास, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ ।
आषाढ शुक्ल एकादशीका दिनदेखि क्षीर सागरमा शयन गरेका भगवान् विष्णु चार महिनापछि भोलिका दिन जागा हुने भएकाले यस दिनलाई हिन्दु धर्मावलम्बीले विशेष रूपमा व्रत, उपवास बस्ने चार महिनाभरि चतुर्मास पुराण सुन्ने गर्दछन् । यसलाई ठूला एकादशीको रूपमा पनि मान्ने गरिन्छ ।
भगवान् विष्णुको शयनका यी चार महिनामा विवाह, यात्रा आदि माङ्गलिक कार्यलाई राम्रो मानिँदैन । ठूला एकादशीको दिन भोलि गृहिणीले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तसर्थ तुलसी विवाह भन्ने प्रचलन पनि रहेको छ । तुलसीलाई विष्णुप्रिया पनि भनिन्छ ।
तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेंलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् ।
हिन्दु धर्मानुसार तुलसीको ज्यादै ठूलो महिमा छ । कात्तिक महिनाभरि सम्पूर्ण तीर्थसहित देवताहरू तुलसीमा निवास गर्दछन् । जुन घरमा तुलसीको मठ हुन्छ त्यो घर तीर्थ समान हो, त्यस घरमा यमदूतको प्रवेश हुँदैन, एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गरेमा १० हजार गौदान गरे समान फल प्राप्त हुने गरुड पुराणमा उल्लेख भएको पाइन्छ ।
तुलसीको धार्मिक–सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व प्रशस्त पाइन्छ । यसको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औँलो आदिका लागि प्रयोग गरिन्छ । तुलसीको हावा मात्रले विषालु कीटाणु नाश हुने जनविश्वास रहेको पाइन्छ ।
हरिबोधनी एकादशीका अबसरमा मुलकभर विष्णु मन्दिर तथा त्रिवेणीमा विशेष मेला लाग्नुका साथै दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
यसै अवसरमा इलामको धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा धुमधामका साथ मेला लाग्दछ । माईपोखरीमा पूजाआजा गर्न र मेला भर्न भारतको दार्जिलिङ, सिक्किम, मिरिकलगायत नेपालका विभिन्न स्थानबाट हजारौं भक्तजन जाने गर्दछन् ।
यसैगरी, भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा दर्शन गर्न काठमाडौँ उपत्यकालगायत बाहिरी विभिन्न जिल्लाबाट पनि दर्शनार्थी आउने गरेका छन् ।
भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँको शेषनारायण र इचङ्कुनारायणको पूजा गरी व्रत बसेमा पुण्य प्राप्त हुने जनविश्वासअनुसार चाँगुनारायणमा मेला भर्न आउने श्रद्धालुको ठूलो घुँइचो लाग्ने गरेको छ ।
काठमाडौँको दक्षिण भेगस्थित प्रसिद्ध शेषनारायण मन्दिरमा कात्तिक शुक्ल एकादशीका अवसरमा शेषनारायण मेला लाग्ने गर्दछ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका अवसरमा सो मन्दिर दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ काठमाडौँलगायत देशका विभिन्न भागबाट दर्शनार्थी आउन थालेपछि विगत केही वर्षयता कात्तिक शुक्ल एकादशीका अवसरमा हुने दर्शनार्थीको चापलाई व्यवस्थित गर्न सो मेलालाई शेषनारायण मेलाका रूपमा लिन थालिएको स्थानीयवासी बताउ‘छन् ।
यो एकादशीका दिन विशेषगरी हिन्दु संस्कृतिअनुसार तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने भएकाले यस बेला यसको माग बढी हुन्छ ।