काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् ।
शनिबार रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डकै अगाडि आफूलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हुन् ।
उपमहासचिव शर्माले कार्यकर्तालाई के आफू दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट आफूले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिएको आरोप लगाए ।
उनले भने- ‘आज म बडो आश्चर्यमा छु । तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नि ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? मलाई यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ तपाईँहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छु । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ ।’
शर्माले अहिले पार्टीभित्र संघर्ष र प्रश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको बताउँदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दुराग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको स्पष्ट गरेका थिए ।
शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफू र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउँदै यो पार्टीको राम्रोको लागि भएको ब्याख्या गरेका छन् । उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउँदै अहिलेसम्म सहज रुपमा नै समाधान गर्दै आएको बताएका छन् ।