सिरहा, साउन । सिरहाको एक पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले नै नगरपालिकामा मजदुरी गराएर श्रम शोषण गरेको छ । जिल्लाको सुखीपुर नगरपालिकामा प्रधानकर्मचारी र जनप्रतिनिधिहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यरत मजदुरहरुलाई काम गराएर तोकेको पारिश्रमिक नदिएर श्रमशोषण गरेको हो ।
स्थानीय मजदुरहरुले मजदुरी नपाएको भन्दै विगत पाँच दिनदेखि नगरपालिकाको मूख्य गेटमै तालावन्दी गरेर धर्नामा बसेका छन् । दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने सम्झौता अनुसार तीन महिना काम गराएपनि आफूहरुले तोकेका पारिश्रमिक नपाएको सुखीपुर ६ का मजदुर सैदि सदायले बताए । उनी जस्तै सुखीपुर ६ कै रेखा देवी रामले पनि पारिश्रमिक पाएका छैनन् । वडा नम्वर १० का गनिता मोचि र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारीश्रमिक नपाएको बताए ।
सुखीपुर ६ का मजदुर सैदि सदायले आफूहरुलाई दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने भनेर तीन महिना काम गराए अहिले खातामा १० हजार ६ रुपैयाँमात्र हालेको बताए । उनले भने, ‘हामीलाई पहिला तिमीहरु काम गर, सबै पैसा एकैपटक खातामा जान्छ भने र खातामा रकम गइसकेको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाई रकम पनि छैन ।’
नगपालिकामा गुनासो गर्न आउँदा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको बताए । उनीहरुले आफूहरु श्रम शोषणमा परेकाले सरोकारवाला सवैलाई सहयोग गर्न समेत अपिल गरे ।उनीहरुले वडा नम्वर ६ र १० को वडा कार्यालयमा पनि ताला बन्दी गरेको छ । लामो समयदेखि कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित भएको छ । यस प्रति सम्वन्धित व्यक्तिहरुको ध्यान गएको छैन ।
वडा नम्वर ६ का अध्यक्ष रामेश्वर साहले प्रधानमन्त्री स्वरोजगार अधिकारीले कामको लागि मजदुर माँगे पछि पठाएको बताए । वडा अध्यक्ष साहले पहिला दैनिक ज्यालादारी दिने भनेपनि अहिले आएर नाप–जाँचको आधारमा रकम दिएको भन्दै कर्मचारीहरु पन्छिने गरेको आरोप लगाए । वडा अध्यक्ष साहले मजदुरहरुले तत्काल तोकिएको सुविधा पाउनु पर्ने र कार्यालय सूचारु गर्न नेतृत्वले पहल गर्ने पर्ने बताए ।
तालाबन्दिका कारण नगरपालिकाबाट हुने सम्पूर्ण सेवा प्रभावित भएको छ । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत यसप्रति उदासीन रहँदै आएको छ। तालाबन्दी भएको पाँच दिन वितिसक्दा पनि नगरपालिकाको तर्फबाट मजदुरहरुको दुखेसो सुनिएको छैन ।
सुखीपुर नगरपालिकाका मेयर राम औतार यादवलाई तपाईको कार्यालयमा तलाबन्दी गरेको रहेछ, कसले किन तालाबन्दी गरेको हो ? भनी फोनबाट प्रश्न गर्दा उनले आफू अहिले बाहिर रहेको भन्दै फोन काटिदिए ।
यस विषयमा जान्न प्रमुख प्रशासकीय अधिकृत महेश कुमार ठाकुरको कार्यालयको नम्वर ९८५२८२९१११ म फोन गर्दा फोन स्वीच अफ रहेको थियो । सम्वन्धित सरोकारबाला शाखाका स्वरोजगार अधिकारी अन्जिरा साहको पनि फोन उठेन ।
सूचना अधिकारी प्रमोद कुमार यादवले मजदुरहरुले पारीश्रमिक विवादका कारण तालाबन्दी गरेकाले आफू अहिले घरमै रहेको बताए । उनले भने, ‘विहान एक पटक कार्यालय गएको थिएँ, तालावन्दीका कारण फर्किएर आएँ ।’