स्वर्गद्वारी(प्युठान), असारः सरुमारानी गाउँपालिकाले किसानलाई भैसीका कोरेली पाडी वितरण गरेको छ । दुध आयातलाई प्रतिस्थापन गरी दुधजन्य पदार्थमा सरुमारानीलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती पाडी वितरण गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानसङ्ग गाउँ सरकार कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाको ९० प्रतिशत र किसानको १० प्रतिशत लागत साझेदारीमा एक सय २० जना किसानलाई भैँसीका पाडी वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समयमा यहाँका किसानमा भैसीपालनको आकर्षण घटेको सरुमारानी गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक मोहम्मद हलिम हलुवाइको भनाइ छ । उहाँले भन्नुभयो, “भैसीपालनमा आकर्षण बढाउन, दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न यो कार्यक्रम फलदायी हुनेमा विश्वास छ ।” गाउँपालिकाले वितरण गरिएका पाडीहरुको निःशुल्क बीमा समेत गरिदिएको छ ।
गाउँपालिका र किसानबीच वितरण गरिएका पाडी पाँच वर्षसम्म विक्री गर्न नपाइने सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो । गाउँपालिकाको आव २०८०/८१ को वार्षिक कार्यक्रमअन्तर्गत रु ३६ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले हरेक तीन महिनामा पाडीको स्थलगत अनुगमन गरी किसानलाई आवश्यक प्राविधिक परामर्श दिने जनाइएको छ ।