29.1 C
Kathmandu
 

दक्ष रूसीलाई स्वागत गर्न इयूसँग पूटिनका आलोचकको आग्रह

निर्वासित क्रेमलिन आलोचकहरूको एक समूहले मङ्गलबार युरोपेली युनियनका देशहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनको शासनसँग विवादित भई पलायन भएका दक्ष रूसीलाई स्वागत गर्न थप कदम चाल्न आग्रह गरेको छ ।

नेता पुटिनले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेयता १० लाखभन्दा बढी मानिस रूसबाट भागेका तर तीमध्ये केही टर्कीजस्ता देशमा र युरोपेली सङ्घमा उपलब्ध रोजगारीको अभाव, भिसा र दीर्घकालीन आवासीय अनुमति प्राप्त गर्न कठिनाइका कारण निरुत्साहित भएर फर्किन थालेका अनुमान निर्वासित क्रेमलिन आलोचकहरूको समूहले गरेको छ ।

रूसी विपक्षी नेता तथा पूर्व सांसद दिमित्री गुडकोभले पेरिसमा भन्नुभयो, “रूसको लागि एक जना इञ्जिनियरको कमी भनेको युक्रेनको दिशामा उड्ने क्षेप्यास्त्रमा पनि कमी हो ।”
फ्रेन्च इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्समा बोल्दै गुड्कोभले युरोपेली सङ्घका विभिन्न सदस्य राष्ट्रमा रहेका रूसी समुदायहरूको अध्ययन सार्वजनिक गर्नुभयो ।

गुडकोभ र अर्थशास्त्री भ्लादिस्लाभ इनोजेम्त्सेभद्वारा संयुक्त रूपमा स्थापित नयाँ थिङ्क ट्याङ्कको तर्फबाट निकोसिया विश्वविद्यालयसँग सम्बन्धित अनुसन्धाताहरूले फ्रान्स, जर्मनी, पोल्याण्ड र साइप्रसमा बसोबास गर्ने तीन हजार २०० भन्दा बढी रूसीहरूको सर्वेक्षणमा आधारित रहेर यो अध्ययन गरेका हुन् । अध्ययनमा समावेश भएका करिब ८० प्रतिशत उत्तरदाताले पुटिनले सन् २०१४ मा क्रिमियालाई युक्रेनबाट आफ्नो कब्जामा लिएपछि रूस छाडेको बताएका थिए । तीमध्ये ४४ प्रतिशत पूर्ण आक्रमणपछि भागेका थिए ।

नीतिगत सुझावहरूको एक भागको रूपमा, अध्ययनले रूसबाट ‘आर्थिक आप्रवासन’ को व्यापक कार्यक्रमको लागि आह्वान गरेको छ, देशबाट भागेका अधिकांश रूसीहरू पश्चिमी भावनालाई समर्थन गर्ने कुशल र शिक्षित जनशक्ति ‘रूसीमुलका युरोपेली’ थिए ।

अध्ययनमा भनिएको छ, “पुटिन शासनलाई कमजोर पार्ने रणनीतिमा सुनियोजित ‘रक्तस्राव’ समावेश हुनुपर्दछ ः यसले युद्धसँग असम्बन्धित रूसबाट योग्य विशेषज्ञहरू र पैसाको बहिर्गमनलाई उत्प्रेरित गर्दछ ।”

मस्कोका अधिकारीहरूले श्रम अभाव एक गम्भीर समस्या बनेको र यसले आर्थिक वृद्धिलाई खतरामा पारेको स्वीकारेका छन् ।
कुशल रूसी र तिनका आर्थिक स्रोतलाई स्वागत गर्नु पश्चिमा मुलुकका प्रतिबन्धभन्दा क्रेमलिनविरुद्ध बढी प्रभावकारी प्रहार हुनसक्ने तर्क गर्दै अझै धेरै काम गर्नुपर्ने इनोजेम्त्सेभले बताउनुभयो ।

इनोजेम्त्सेभले भन्नुभयो, “जसले छोडेका छन् उनीहरूको निर्णयबाट हामी पनि चकित भएका छौँ ।” सन् २०२२ को तथ्याङ्कलाई उद्धृत गर्दै अध्ययनमा साइप्रसमा रहेका रूसी आप्रवासीको औसत मासिक तलब पाँच हजार ४८० युरो (पाँच हजार ८८० अमेरिकी डलर) भन्दा बढी रहेको उल्लेख गरिएको छ । यो साइप्रसकै नागरिकको तुलनामा दोब्बरभन्दा बढी हो । यसको अर्थ रूसले कुशल जनशक्तिको अभाबमा उनीहरूलाई आकर्षक तलब दिने प्रलोभनमा स्वदेश फर्कन आग्रह गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर