डोल्पा, १९ कार्तिक । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । सदरमुकाम दुनैबाट जुफालका लागि छुटेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी दिनुभयो ।
यस्तै जिल्ला अदालतमा कार्यरत अमिना बुढामगर नदीमा बेपत्ता रहेको प्रहरीले जनाएको छ । चलानीमा १२ यात्रु उल्लेख रहेपनि बुढामगर बीच बाटोबाट चढेको प्रहरी अनुमान छ । उहाँको झोला र चप्पल घटनास्थलमा भेट्टीएको प्रहरीले जनाएको छ । घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन् । घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै शवको मङ्गलबार परीक्षण गरेर आफन्तलाई बुझाइने बताइएको छ । घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको छ ।