काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसले दशैं, तिहार तथा छठको अवसर पारेर आज चियापान समारोह सम्पन्न गर्यो । केन्द्रमा उपत्यकाका तीन जिल्लाको केन्द्रीय कार्यालय सानेपामा र अन्य ७४ जिल्लाहरुमा व्यापक सहभागिताका साथ चियापान समारोहको आयोजना गरियो ।
चियापान कार्यक्रममा विभिन्न दलका नेता तथा पदाधिकारीहरु सहभागी भएका थिए । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायत पुग्नुभएको थियो ।
चियापान कार्यक्रममा सहभागि भएर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताबाट मात्रै विकास र समृद्धि सम्भव भएको बताउनुभएको छ । चियापान कार्यक्रममा दाहालले बिपीले भनेको राष्ट्रिय मेलमिलाप त्यस बेलामा जति सान्दर्भिक थियो, अहिले पनि उति नै सान्दर्भिक रहेको बताउनुभयो । देशमा ठूला परिवर्तनहरू एकताबाट मात्रै सम्भव भएको र अब पनि एकताबाटै सम्भव हुने धारणा उहाँले राख्नुभयो ।
यस्तै, चियापानमा सहभागि भएर नेकपाका अर्का नेता झलनाथ खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको प्रतिक्रिया दिनुभयो । प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला भव्यताका साथ चियापान गरिरहेको देखेर आफुलाई खुसी लागेको नेता खनालले बताउनुभयो । यस्तै, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा फरक, फरक दलका प्रतिनिधिहरु भेटघाट गर्ने अवसर मिल्ने भएकाले सकारात्मक संस्कृति भएको प्रतिक्रिया दिनुभयो ।
चियापानका पाहुनालाई कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरुले स्वागत गरेका थिए । चियापान कार्यक्रमसँगै कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान समारोहमा कांग्रेस समर्थक स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पताल इकाइ समितिले चियापानमा आएकाहरुको स्वास्थ्य जाँच गरेको थियो ।