एउटा अपार्टमेन्ट छेउमा बगैंचा थियो । बगैंचामा सुन्दर फूल ढकमक्क फुलेका हुन्थे । तर बगैंचामा खेल्न आउने केटाकेटीका कारण फूल लामो समय सम्म बोटमा रहदैन थिए । बोटबाट फूल टिपेर खल्तीमा हालिहाल्थे । कसै कसैले बाटोभरि फूल फालिदिन्थे ।
केटाकेटीहरुलाई फूल टिप्न हुन्न भनेर सबैले सम्झाउन खोज्थे । तर उनीहरु यति बदमास थिए कि कसैलाई टेर्दैन थिए । केही नलागे पछि अपार्टमेन्टमा बस्ने केही मानिसले केटाकेटीहरुलाई थप्पड पनि हाने तर फेरि पनि कोही नभएको मौका छोपेर उनीहरुले फूल टिप्न छोडेनन् ।
यो सबै देखिरहेको एकजना शिक्षकलाई केटाकेटीहरुसंग भेट्न मन लाग्यो । शिक्षकले उनीहरु सबैलाई एकै ठाउँमा भेला गराए र भने:
” तिमीहरुलाई बोटको फूल टिप्न त आउँदो रहेछ, तर भुइंमा झरेको फूललाई जस्ताको त्यस्तै बोटमा टास्न पनि आउँछ?”
केटाकेटीहरु अलमल्ल परे । उनीहरुले यस्तो कुरा सोचेकै थिएनन । उनीहरुलाई शिक्षकले भनेको कुरा अनौठो लाग्यो ।एकछिन सोचे पछि सबैले एकै स्वरमा शिक्षकलाई सोधे :
“कसरी?”
शिक्षकले फेबिकल लिएर आए । अनि भुइंमा झरेका फूलको एक छेउमा फेबिकल लगाए । अनि रुखको पातमा लगेर टासिदिए । यो खेल केटाकेटीहरुलाई गज्जब लाग्यो ।
अर्को दिनबाट उनीहरुले बोटको फूल टिप्न छोडे । बरु भुइंमा झरेका फूल टिप्दै रुखमा टास्दै गर्न थाले ।
सारांश
बालबालिकाको स्वभाव प्राकृतिक रुपमै चंचल हुन्छ । उनीहरु कुनै ठाउँमा एकछिन चुप लागेर बस्न सक्दैनन् । कुनै न कुनै गतिविधिमा सामेल हुँदै गर्दा कहिले कहीं गलत काम पनि गर्न पुग्दछन । तर हामीलाई चित्त नबुझेको कुनै पनि कुरा रोक्न हामी उनीहरुलाई ठाडो निर्देशन दिने गर्दछौं । त्यस्तो काम नगर्न निषेध गर्ने गर्दछौं । तर हामी कहिले पनि उनीहरुलाई विकल्प दिने प्रयास गर्दैनौं ।
बालबालिका बगेको नदी जस्तै हुन्छन । नदीको प्राकृतिक बहाबलाई थुन्ने प्रयास गर्नु भयो भने केही पानी जम्छ तर तुरुन्तै अर्को बाटो बनेर नदि फेरि बग्न सुरु गर्छ । कोठाभित्र हल्ला गरिरहेको बच्चालाई हल्ला नगर्न निषेध गर्नु भयो भने अर्को कोठामा पुगेर चकचक गर्न थाल्छन । त्यहाँ पनि निषेध गर्नु भयो भने घरको छतमा पुगेर चंगा उडाउन वा टोलका साथीहरुसंग खेल्न सक्छन । त्यो पनि निषेध गर्नु भयो भने फेरि घरमा कार्टुन हेरेर बस्न सक्छन ।
निष्कर्ष: बिना कुनै विकल्प बालबालिकालाई उनीहरुले गर्दै गरेको काममा निषेध गर्नु भयो भने उनीहरुले हामीलाई टेर्दैनन, झन् अर्को बदमासी गर्न सक्छन । माथिको प्रसंगमा पहिले मानिसहरुले फूल नटिप्न भनेर गाली मात्र गरे तर शिक्षकले फूल टिप्न प्रयोग भइरहेको बालबालिकाको उर्जा र इच्छाशक्तिलाई झरेको फूल टास्ने कुरामा रुपान्तरण गरिदिए । त्यही उर्जा पहिले नराम्रो काममा प्रयोग भएको थियो, तर पछि राम्रो काममा रुपान्तरण भयो । यो रमाइलो र अनौठो विकल्प थियो, जुन बालबालिकाले मन पराइदिए ।
लेखक ईन्टरनेसनल ईन्स्टिच्युट अफ एजुकेसन एण्ड सोसियल रिसर्चका प्रबन्ध निर्देशक हुन ।