7.8 C
Kathmandu
 

टिआरसी विधेयक अन्तिम चरणमा : मन्त्री गिरी

पर्वत १२ चैत: कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।महाशिला गाउँपालिकामा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सो विधेयक छिट्टै टुङ्गो लगाइने बताउनुभयो । उहाँले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत जानकारी दिनुभयो ।

मन्त्री गिरीले भन्नुभयो, “विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ ।” खासगरी पीडितलाई न्याय दिलाउने गरी विधेयक ल्याउनुपर्ने दलहरु सहमत भएको उहाँले बताउनुभयो । अन्तिम चरणमा रहेकाले विधेयक संसद्मा पेश गर्न लामो समय नलाग्ने उहाँले बताउनुभयो ।

विधेयक पास भैसकेपछि कतैवाट बिरोधका स्वरहरु ननिस्किुन भन्नेतर्फ सचेत हुँदै पूर्ण तयारी र सहमतिका साथ पारित गरिने समेत मन्त्री गिरीले बताउनुभयो । त्यस अवसरमा उहाँले कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने धारणा समेत राख्नुभयो । कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको उहाँको भनाइ छ । कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश सङ्घीयतामा गए पनि अझै नयाँ कानुन बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गर्नुभयो । उहाँले बदलिँदो परिवेश अनुसार कानुन बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको बताउनुभयो ।

सदनमा पेस भएका कतिपय विधेयक राजनीतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताउनुभयो । मन्त्री गिरीले सङ्घीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाउनुभयो । उहाँले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने धारणा राख्नुभयो । मन्त्री गिरी आइतबारदेखि दक्षिण पर्वतको पँैयू, विहादी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा भेटघाट तथा जनसंवादमा सरिक हुनुभएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर