23.1 C
Kathmandu
 

पाेखरा पल्टन लिग चरणबाटै बाहिरियाे

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत अघिल्लो संस्करणको विजेता पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिएको छ ।

यो संस्करणमा निकै खराब प्रदर्शन गरेको पोखरा लिग चरणबाट नै बाहिरियो । लिगको अन्तिम खेलमा धनगढीसँग ५ विकेटले पराजित भएपछि पोखराको यात्रा लिग चरणमा नै सकियो ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम १६ ओभर ३ बलमा ७९ रन बनाउँदै अलआउट भयो । निकै खराब ब्याटिङ गरेको पोखराका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

सात रनमा पहिलो विकेट गुमाएको पोखराले २० रन बनाउँदा तीन विकेट खेर फालेको थियो । उसका कुनै पनि खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । ५४ रनमा चार विकेट खेर फालेको पोखराले ७१ रन हुँदा ८ विकेट गुमायो । अन्ततः ७९ रनमा अलआउट भयो ।

पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । कुशल भुर्तेल ६ रनमा आउट भए भने कप्तान शरद भेषवाकर चार तथा रविइन्दर सिंहले खाता खोल्न सकेनन् । यस्तै विनोद भण्डारी १२ रनमा आउट हुँदा कुशल मल्ल दुई, कृष्ण कार्की एक र रोहित पोडेलले खाता खोल्न सकेनन् ।

पोखराको पारी ध्वस्त पार्ने क्रममा अनिल खरेलले तीन तथा सागर ढकाल र दीपक पुनीयाले दुई–दुई विकेट लिए ।

जवाफमा धनगढीले ९ ओभर १ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । यो जितले पनि धनगढीको प्लेअफमा पुग्ने सम्भावना निकै कम रहेको छ ।

आजको खेलमा पनि धनगढीले सुरुवात राम्रो गर्न सकेन । २७ रनमा पहिलो विकेट गुमाएको धनगढीले ४१ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर थोमस रोद्रिगो १५ रनमा आउट भए भने कप्तान दीपेन्द्र ऐरी १३ रनमा पेभेलियन फर्किए । तर दीपक पुनीया र सुविन्धु पाण्डेले धनगढीलाई जितको बाटो देखाए ।

अब धनगढीलाई प्लेअफमा पुग्न काठमाण्डौ वा विराटनगरले भारी अन्तरले हार्नुपर्नेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर