16 C
Kathmandu
 

मालाले मालामाल : भक्तपुरमा उनेको माला अष्ट्रेलियासम्म

काठमाडौं – बारी र खेतमा फूल फुलेर ढकमक्क भएको छ । मखमली र सयपत्रीले बस्ती नै पँहेलपुर र राताम्मे देखिन्छ । तिनै फूल उनेर बनाइएका मालाले घर भरिएका छन् । माला बनाउने काम धमाधम भैरहेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका टिकाथलीका विश्वराज नगरकोटीलाई पनि मखमलीको माला उन्न भ्याईनभ्याई छ । धान पाकेर पहेँलपुर भैसक्यो, तर उहाँसहित परिवारका पाँचैजना सदस्य माला बनाउने काममा व्यस्त छन् । धानले दिनेभन्दा बढी आम्दानी माला बेचेर हुने भएपछि नगरकोटी यही काममा लाग्नुभएको हो ।

तिहार नजिकिएसँगै माला उन्ने चटारो बढेको छ । आफू र परिवारका सदस्यले समेत नभ्याएपछि नगरकोटीले फूल टिप्ने र माला बनाउने काममा अरु मान्छेलाईसमेत खटाउनुभएको छ  । केही दिनको लागि स्कुल, कलेज समेत नगएर छोरीहरुले माला गाँस्ने काममा सघाइरहेका छन् ।

फूल फुलेको बेला माला माला नगाँसे बारीमै फूल बिग्रिने र अहिलेदेखि नै माला गाँसे मात्र तिहारको लागि माग अनुसारको पूर्ति गर्न सकिने भएपछि उहाँहरु अहिले सबैजना माला गाँस्ने काममा लाग्नुभएको हो ।

नगरकोटीले दश वर्ष अघिदेखि फूल खेती गर्दै आउनुभएको छ । उहाँले करिब दुई रोपनी जग्गामा फूल रोप्नुभएको छ ।  फूल खेतीबाट राम्रो आम्दानी हुने र बजारको अभाव पनि नहुने भएपछि उहाँ यो व्यवसायमा लाग्नुभएको हो । एउटा मालाको मूल्य होलसेलमा २० देखि ३० रुपैयाँसम्म र खुद्रामा ५० देखि एकसय रुपैयाँसम्म पर्ने उहाँ बताउनुहुन्छ ।

फूल टिपेको र बनाउन लगाएको सबै ज्याला कटाएर अघिल्लो वर्ष ८० हजार रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो । यो वर्ष डेढलाख रुपैयाँ जति आम्दानी हुने उहाँको आशा छ । यो वर्ष फूल पनि राम्रो उत्पादन भएको र माला उन्ने काम पनि समयमै भएकोले राम्रो आम्दानी हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

उहाँले अहिलेसम्म आठ हजार माला उनिसक्नुभएको छ र बारीबाट फूल टिप्ने र उन्ने काम भैरहेको छ ।

सूर्यविनायककै अर्का फूल व्यवसायी सूर्यनारायण नगरकोटीले पनि फूल खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । वार्षिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँले पनि फूल गाँस्ने र फूल टिप्ने काममा ज्याला दिएर मान्छे लगाउनुभएको छ । फूल टिपेको र एउटा माला गाँसेको पाँच रुपैयाँ ज्याला दिने गरेको उहाँ बताउनुहुन्छ ।

आफूले उनेका माला अष्ट्रेलियासम्म पुगेकोमा उहाँ खुसी हुनुहुन्छ । अघिल्लो वर्ष तीन हजार मखमलीको माला अष्ट्रेलियाबाट माग भएको थियो । उहाँ भन्नुहुन्छ, ‘यो वर्ष पनि माग हुन्छ होला । अहिले धरान र पोखराबाट अर्डर आइसक्यो ।’

उहाँहरु मात्र होइन, यहाँका अरु बासिन्दा पनि फूल खेतीमा लागेका छन् । टिथलीबाट मात्रै तिहारको लागि पाँच लाख जति माला बाहिरिन्छन् ।

तरकारी खेती गर्नको लागि सिँचाईको सुविधा नभएकाले फूल खेती गर्न थालेका हौं । अहिले यसैले राम्रो आम्दानी दिन थालेपछि ढुक्क छौं’  विश्वराज नगरकोटीले भन्नुभयो, ‘सरकारी पक्षबाट केही सहयोग मिल्यो भने अझै राम्रो हुने थियो, तर कुनै पनि सहयोग मिलेकोे छैन ।

सरकारले बजारमा मालाको मूल्य निर्धारण गर्नुपर्ने उहाँको माग छ । ‘भण्डारणको अभावले गर्दा भनेजस्तो सुरक्षित राख्न समस्या हुने गरेको छ । सरकाले भण्डारको लागि सहयोग गरिदिए यहाँका बासिन्दा सबैले व्यवसायी फूल खेती गर्ने थिए’ उहाँ भन्नुहुन्छ ।  उज्यालाे अनलाइनबाट..

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर