सागको दोस्रो दिन आज १२ खेल हुँदै (सूचीसहित)

22

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आज दोस्रो दिन विभिन्न १२ खेल हुँदैछन् ।

आइतबार औपचारिक रुपमा सुरु भएको सागमा दोस्रो दिन १२ खेल हुन लागेको हो । जसमा फुटबलसहित भलिबल, तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ ।

बाँकी खेल काठमाडौंमा चल्दा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन भने पोखरामा हुँदैछ । पोखरा फेवातालमा हुने ट्रायथलनको इलाइट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलङ्कका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ नेपालका नितेश मानन्धर र वसन्त थारु तथा महिलातर्फ सोनी गुरुङ्ग र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्नेछन् ।

खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गर्नेछन् । फेवातालमा हुने प्रतिस्पर्धाका लागि आयोजक नेपाल, भारत र श्रीलङ्का गरि तीन देशको सहभागिता रहेको छ ।

सागमा पहिलोपटक समावेश क्रिकेट अन्तर्गत आजबाट पोखरामा महिला क्रिकेट सुरु हुँदैछ । पोखरा स्टेडियममा नेपाली महिला क्रिकेट टोलीले आज पहिलो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।

पोखरामा नै चलिरहेको ब्याडमिन्टनतर्फ आज पुरुष टिम इभेन्ट र महिला टिम इभेन्टको सेमिफाइनल खेल हुँदैछ । सेमिफाइनलमा स्थान बनाइसकेको नेपालको पुरुष तथा महिला टोलीले फाइनल प्रवेशका लागि श्रीलंकासँग खेल्नेछन् ।

यता काठमाडौंमा ९ खेल हुँदैछन् ।

फुटबल 

आजबाट सुरु हुने फुटबलमा दुइ खेल हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेश र भुटान आमनेसामने हुँदा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यद्यपि खेलाडीलाई रेष्ट नभएको भन्दै माल्दिभ्सले खेल तालिकामा आपत्ति जनाएको छ ।
बंगलादेश र भुटानबीचको खेल दिउँसो एकबजे सुरु हुँदा माल्दिभ्स र श्रीलंकाबीचको खेल बेलुका ५ बजे हुनेछ ।

भलिबल
सागअघि नै सुरु भएको भलिबलमा आज महिला र पुरुष टोलीले काँस्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । सेमिफाइनलमा नेपालसँग हारेको श्रीलंका र भारतसँग पराजित माल्दिभ्सको टोली काँस्यका लागि प्रतिस्पर्धा गर्दा पुरुष भलिबलमा काँस्यका लागि बंंगलादेश र श्रीलंका खेल्दैछन् ।  राष्ट्रिय कभर्डहलमा खेल दिउँसो २ बजे सुरु हुनेछ ।

टेबल टेनिस 
टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ । बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।

खो खो

आजबाट हुन लागेको खो खो अन्तर्गत पुरुष स्पर्धामा श्रीलंका र बंगलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

कराँते 

पदकको अपेक्षा गरिएको कराँतेमा आज ५ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजेबाट सातदोबाटोस्थित कराँते हलमा सुरु हुनेछ । आज नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

तेक्वान्दो

पदकको अपेक्षा गरिएको अर्को खेल तेक्वान्दोमा आज १३ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । सातदोबाटोस्थित तेक्वान्दो हलमा ९ बजेबाट खेल सुरु हुनेछ ।

टेनिस 

लन टेनिसको प्रतिस्पर्धा पनि सोमबारबाट सुरु हुनेछ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा नेपालले महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ । बिहान नेपालले टिम इभेन्टको पुरुष र महिलामा क्वाटरफाइनल खेल खेल्नेछ । पुरुषतर्फ नेपालले बंगलादेशको सामना गर्नेछ भने महिलातर्फ माल्दिभ्सको सामना गर्दैछ ।

गल्फ 

साग अन्तर्गत गल्फ सोमबारबाट सुरु हुनेछ । गल्फको प्रतिस्पर्धा गोकर्ण गल्फ क्लबमा हुनेछ ।

उसु 

उसुको औपचारिक उद्घाटन आज हुँदैछ । उद्घाटन लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।